कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन, युवा नेताहरु असन्तुष्ट
नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो ।

पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता नामावली समितिलाई हालसम्म प्राप्त नभएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।
संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ/नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ । त्यस्तै गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उहाँले बताउनुभयो । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ ।
प्रदेश र केन्द्रको अधिवेशनको मिति भने यथावत छ । कांग्रेसले यस अघि नै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।
क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न माग
नेपाली कांग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।
पार्टीका एक दर्जन युवा नेताले संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गर्नुभएको छ ।
हाल कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । ती जिल्लामा अधिवेशनको प्रक्रिया पनि प्रारम्भ भएको छैन । यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको र अधिवेशनको आयोजनासमेतमा विभेद भएको युवा नेताहरुको भनाइ छ ।
युवा नेता डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले विज्ञप्तिमार्फत पार्टीमा समानुपातिक प्रतिनिधित्वको माग सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्