उपसभामुख रानाबाट मुलुकको शीर झुकाउने काम भयो : कांग्रेस
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको भन्दै औपचारिक रुपमा राजीनामा मागेको छ ।

बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुखलाई महाभियोग लगाउने प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुने बताउनुभयो ।
बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताउँदै मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ । उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँचजनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नुभएको थियो ।
२०२३ को फेब्रुअरीमा चार पुरुष र एक महिलाका लागि भिसा अन्तरवार्ताको मिति अगाडि सारिदिन उपसभामुखले पत्र लेखे पनि उनीहरु अमेरिका जान भने पाएका थिएनन् ।
प्रतिक्रिया राख्नुहोस्