लोकतान्त्रिक उपलब्धि धरापमा परेको कांग्रेसको निष्कर्ष
केही दिनअघिसम्म प्रमुख सत्तारुढ दल रहेको देशका सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले संसद विघटनले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको निष्कर्ष निकाल्दै यसको विपक्षमा उभिने निर्णय गरेको छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेलगत्तै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले संसद विघटन अदालतको व्याख्या र संविधानसम्म नरहेको निष्कर्ष निकालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल छैन। यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।’
सभापति शेरबहादुर देउवा आन्दोलनकारीको कुटपिटबाट घाइते भएर उपचारमा रहेकोले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको थियो । बैठकमा ७ प्रदेश सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागी थिए।
कांगेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिज्यूले लिएको पहललाई जेनजी पुस्ताको माग र भावना बमोजिम नै निष्कर्षमा पुर्याउनु पर्छ र जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्छ। त्यसो गर्दैगर्दा बदलिएको परिस्थिति बमोजिमको समाधानमुखी सहमतिलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो। संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै विद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो ।”
“साथै संविधानको संरक्षक र पालनकर्ताका रूपमा ‘आवश्यकताको सिद्धान्त’ अनुसार जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने, हाम्रो प्रस्तावले राजनीतिक निकासमा पुर्याउने जिम्मेवार प्रस्ताव कांग्रेसले नै प्रस्तुत गरेको” विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले भनेको छ, भदौ २३ र २४ मा भएको अप्रिय र अनपेक्षित घटनाहरूको छानबिन गरी कारबाहको दायरामा ल्याउँदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्ने छ।
‘त्यसैले यो अवस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्बक ध्यान दिनुपर्नेछ। यो गुरुत्तर दायीत्व नेपाली काँग्रेससंग अपेक्षित छ ।’
साथै बदलिएको परिस्थितिमा संयम र एकता राख्न स्वदेश र विदेशमा सदस्य, शुभचिन्तक र समस्त नेपालीमा कांग्रेसले आग्रह गरेको छ।





प्रतिक्रिया राख्नुहोस्