क्यालिफोर्नियामा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु
गणेश थापा, क्यालिफोर्निया-
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमणका कारण सोमबार एक नेपाली युवाको मृत्यु भएको छ । कन्ट्राकोष्टा काउन्टिको एलसेरिटो सिटीमा परिवारसहित बस्दै आएका हेमकुमार चौहानको उपचारका क्रममा निधन भएको हो ।
क्यालिफोर्नियामा रहेको नेपाली समुदाय ‘नर्दन क्यालिफोर्निया कम्युनिटी’ बाट प्राप्त जानकारीअनुसार स्वास्थ्यमा समस्या आएपछि केही दिन पहिला काइजर अस्पतालमा भर्ना भएका निज चौहानको सोमबार अपरान्ह मृत्यु भएको हो ।
रेस्पिरेसन सिस्टममा गडबढी देखिएपछि कोभिड १९ परीक्षण गर्दा पोजेटिभ आएपछि निजको भेन्टिलेटरमा राखेर उपचार भैरहँदा मृत्यु भएको हो । मृतक चौहानको शव अहिले अस्पतालमै रहेको र आवश्यक प्रकृया पूरा गरे पश्चात् अन्तिम संस्कारको कार्य अधि बढ्ने नेपाली समुदायका एक प्रतिनिधिले जानकारी दिएका छन् ।
कोरोना भाइरस महामारीमा परी अमेरिकामा अहिलेसम्म १७ जना नेपालीको ज्यान गएको छ । यसबीचमा कोरोना संक्रमित २ हजार बढी नेपालीहरू मध्ये अधिकांश संक्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो समय अमेरिकाको क्यालिफोर्निया राज्य कोभिड १९ बाट सवैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड १९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा सोमबार २४ घण्टाको अवधिमा ४ सय १० जनाको मृत्यु भएको छ भने ३४ हजार २ सय बढीमा भाइरसको संक्रमण भेटिएको छ ।
क्यालिफोर्नियामा मात्रै झण्डै सॉढे १४ हजार व्यक्तिको ज्यान जँदा ७ लाख ६० हजार बढीमा संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म करीव २ लाख मानिसको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ भने झण्डै ६७ लाख व्यक्ति संक्रमित भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्