दैलेख सफाइ अभियान शुभारम्भ- पूर्वमन्त्री शाही झाडु बोकी सडकमा
वाग्मती सफाई अभियानका अभियन्ता चक्रबहादुर चन्दको अगुवाईमा सफाई अभियान देशव्यापी हुने क्रममा दैलेख पुगेको छ । “राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ दैलेख सफाइ अभियानको शुरुवात भएको हो ।

सफाई अभियानको शुभारम्भ पूर्व मन्त्री कुन्ती कुमारी शाहीबाट भएको छ । शाहीले एक कार्यक्रमकाबीच सडकको फोहोर उठाएर अभियानको शुभारम्भ गर्नु भयो ।
कार्यक्रममा दैलेख नगरपालिका उपप्रमुख सबित्री मल्ल, दैलेखी सेवा समाजका उपाध्यक्ष मिना थापा, एभरेस्ट क्लब दैलेखका अध्यक्ष दिपक शाही, बाग्मती सफाइ अभियानका अभियन्ता समाजसेवी चक्रबहादुर चन्द लगायतको स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहीले अब नागरिकमा सचेतना आउन जरुरी रहेको बताउँदै हरेक ब्यक्तिले सबैभन्दा पहिला सफाइमा ध्यान दिन आवश्यक रहेको र दैलेखलाई सफा सुन्दर बनाउने जिम्मेवारी आफूहरुकै रहेको बताउनु भयो ।
उहाँले आफू केही पटक बाग्मती सफाइ अभियानमा सहभागी हुँदा नागरिकस्तरको अभियानबाट निकै प्रभाबित भएको बताउँदै यस किसिमका अभियानले देशमा ठूलो परिवर्तन ल्याउने विश्वास ब्यक्त गर्नु भयो ।
दैलेख सफाइ अभियान स्थानीय गणेश स्थानबाट शुभारम्भ भै जनचेतनामुलक अभियान गर्दै स्थानीय देवकोटा चोकमा पुगेर समापन गरिएको थियो । अभियानका क्रममा आफ्नो पसल अगाडि अनिवार्य डस्टबीन राख्न र आफ्नो आगन आफै सफा राख्न अपिल समेत गरिएको थियो ।
स्थानीय नागरिकले यो अभियान शुरु भएसँगै दैलेख बजारमा फोहोरको मात्रा बढिरहेको र अभियानले सबैलाई जनचेतना जगाउने र सम्बन्धित निकायलाई पनि फोहोर ब्यबस्थापन सम्बन्धी जिम्मेवारी बोध हुने विश्वास लिएको बताए ।
दुई घण्टासम्म संचालन भएको दैलेख सफाई अभियान हाललाई हरेक १५/१५ दिनमा अभियान संचालन गर्ने कार्यक्रम सयोजक योगेन्द्र सिग्देलले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्