राजनीति

अहिलेको फुट ०५४ कोभन्दा सानो छ ठूलो समस्या हुँदैन : रावल

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको र अहिलेको फुट सानो भएकाले पार्टीलाई ठूलो समस्या हुने बताउनुभएको छ ।

मंगलबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले १० बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने बताउँदै जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले सो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको जिकिर गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै ठूलो समस्या नहुने बताउनुभयो । एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) बनेको पार्टीले एमसीसीबारे आफ्नो प्रष्ट धारणा नल्याएको उहाँको भनाइ छ ।

उहाँले नेकपा (एकीकृत समाजवादी) मा लाग्न विकास योजना र पद दिन खोजिएको उल्लेख गर्दै उहाँले आफूहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपयलाई कांग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन ।”

उहाँले आफू अहिले पनि एमाले पार्टीको उपाध्यक्ष र प्रदेश संयोजक भएको दाबीसमेत गर्नुभयो । रावल आफ्नो गृह जिल्ला अछामसहितका जिल्ला भ्रमणका लागि यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button