गठबन्धनलाई निरन्तरता दिंदा दुई तिहाई, माओवादी पहिलो पार्टी बन्ने
सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिंदै दुई तिहाई बहुमत ल्याउने र माओवादी सबैभन्दा ठूलो दल हुने दावी गर्नुभएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पोस्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले केही नेताहरुमा विचलन आए पनि जनता नबिग्रिएको र अझै पनि क्रान्तिप्रति रुचि रहेको समेत बताउनुभएको छ ।
त्यस क्रममा उहाँले मुलुकमा विद्यमान विकृत बुर्जुवा प्रणालीलाई सुधार्न आवश्यक रहे आफूहरु सडकमा जानुपर्ने अवस्था पनि आउन सक्ने उहाँले बताउनुभयो ।
पछिल्ला आन्दोलनले माओवादी पुनः शक्तिमा फर्किन सक्छ भन्ने देखाएको दावी गर्दै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेछ भन्ने स्थापित भएकाले आफूहरु आएर देशको नेतृत्व गर्ने वातावरण बन्ने समेत बताउनुभयो ।
आफूहरु इमान्दार भएर लाग्दा कसैले रोक्न नसक्ने पनि उनले बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिने पनि उनले बताए । गठबन्धनलाई निरन्तरता दिँदा आगामी चुनावमा दुई तिहाई मत ल्याउने उनको दाबी छ ।
प्रतिक्रिया राख्नुहोस्