विश्व समाचार

अमेरिकाले काम गुमाएका नागरिक र करदाताहरुलाई पुनः १२ सय डलर राहत दिने

गणेश थापा, क्यालिफोर्निया

डलर

डलर

संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस संक्रमणका कारण काम गुमाएका आफ्ना देशवासी तथा करदातालाई पुनः एक हजार २ सय डलर राहत स्वरूप वितरण गर्ने भएको छ । नोवेल कोरोना भाइरसको संक्रमणका कारण संसारकै सवैभन्दा बढी मानवीय तथा आर्थिक क्षति व्यहोरिरहेको अमेरिकाले यसअघि गत अप्रिलमा १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो ।

बुधबार संसदमा सत्तारूढ दल रिपब्लिकन र विपक्षी डेमोक्रेटिकका सांसदहरूको संयुक्त प्रयासमा सार्वजनिक गरिएको करीव डेढ ट्रिलियन डलर बराबरको राहत प्याकेजमा १२ सय डलरको चेक वितरण गर्नेदेखि रोजगारविहिनलाई चार सय ५० डलरको साप्ताहिक बेरोजगारी भत्ता एवम् कोरोना भाइरसको महामारीबाट प्रभावित साना तथा मझौला व्यापार व्यवसायलाई आर्थिक सहायता प्रदान गर्ने लगायतका विविध पक्षलाई समेटिएको छ ।

अमेरिकी सरकारले यसअघि विभिन्न चरणमा गरी कोरोना भइरसबाट उत्पन्न संकट मोचनका लागि अमेरिकाको इतिहासमै सर्वाधिक तीन ट्रिलियन डलरभन्दा बढी राशीको विशाल आर्थिक सहायता प्याकेज ल्याइसकेको छ । हाल ल्याइएको नयाँ राहत प्याकेज सम्बन्धी विधेयक संसदको दुवै सदनबाट पारित भएपश्चात मात्र कार्यान्वयनमा आउने छ ।

विधेयकमा राज्यको कर प्रणालीमा आबद्ध भई वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी गर्ने प्रत्येक वयस्क मानिसले १२ सय डलर आपतकालिन राहत स्वरूप पाउने छन् भने कोरोना महामारीका कारण काम गुमाएकाहरूलाई साप्ताहिक चार सय ५० डलर कम्तीमा दुई महिनाका लागि दिइने कुरा समेटिएको वताइएको छ । यद्यपि यो विधेयक आगामी नोभेम्वर ३ मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन अघि संसदबाट पारित हुनेमा भने सांसदहरू नै विश्वस्त देखिएका छैनन् ।

अमेरिकामा यसअघि काम गुमाएका झण्डै तीन करोड ६० लाख बढी मानिसले आफ्नो रोजगारी गुमेको भन्दै वेरोजगारी बीमाका लागि फारम भरेकोमा हाल कोरोना भाइरसको संक्रमणमा कमी आएको, बजारमा मानिसहरूको चहलपहल बढेको तथा काममा फर्किनेको संख्यामा समेत वृद्धि भइरहेको आदि कारणले गर्दा उल्लेखित वेरोजगार संख्यामा केही कमी आएको सम्बन्धित अधिकारीहरूले उल्लेख गरेका छन् ।

अमेरिकामा हालसम्म करीव २ लाख मानिसको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ भने ६७ लाख बढी व्यक्ति संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.