कोरोना बीमा आफैं बिरामी: संक्रमितले शतप्रतिशत भुक्तानी नपाउने
सरकारले मुलुकमा कोरोना भाइरस संक्रमण बढ्ने संकेत देखिनासाथ कोरोना संक्रमितका लागि उपचार खर्च उपलब्ध गराउने उद्देश्यले एक लाख रुपैयाँको कोरोना बिमा सुरु गर्यो । सुरुमा पीसीआर पोजेटिभ पुष्टि भएको अवस्थामा १०० प्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरको थियो तर देशमा कोरोनाको महामारी अझ तीव्र बन्दा कोरोना बीमा गर्नेको सङ्ख्या बढ्दै र भुक्तानीको दाबी पनि बढ्न थालेपछि सरकारी प्रयोगशालाका रिपोर्टलाई मात्र मान्य हुने गरी संशोधन गरियो ।
बीमा समितिले २०७७ साल वैशाख ५ गते जारी गरेको कोरोना बीमा पोलिसी संशोधन गर्दै कोरोना बीमा पोलिसीलाई स्वास्थ्य बीमाजस्तै बिलका आधारमा दाबी भुक्तानी गर्ने गरी संशोधन गर्दा त्यसको मौलिक रूप रहेन ।
बीमा कम्पनीहरुले तत्काला हुने आफ्नो नाफाको आधार हेर्दै पोलिसी संशोधन गरेपछि कोरोना बीमा अहिले आफैँमा बीमाको खोजीमा पुगेजस्तो भएको छ । सञ्चालनमा आएको पाँच महिना नपुग्दै कोरोना बीमा कोरोना बीमा रहेन । कोरोना बीमा बन्द भएर स्वास्थ्य बीमाका रूपमा परिणत भएको छ । सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्र मान्यता दिने समितिको निर्णयको व्यापक आलोचना भएपछि निजी प्रयोगशालाका रिपोर्ट पनि मान्य हुने व्यवस्था गर्न बाध्य भयो तर रकम भुक्तानीमा भने कटौती गर्यो ।
नयाँ मापदण्डअनुसार बीमितले अधिकतम बीमाङ्क रकमको अधिकतम ७५ प्रतिशत मात्र भुक्तानी पाउने छन् । सङ्क्रमण प्रमाणित भई होम आइसोलेसनमा बस्नु परेमा राहत खर्चबापत बीमाङ्क रकमको २५ प्रतिशत र आइसोलेसन सेन्टर वा अस्पताल नै भर्ना भएमा औषधि खर्चको बिलअनुसार बीमाङ्क रकमको अधिकतम ७५ प्रतिशत भुक्तानी पाउने छन् । सङ्क्रमितलाई सरकार तथा अन्य संस्थाले उपचार खर्च बेहोरेमा औषधि खर्चको भुक्तानी पाउँदैनन् ।
संशोधन गर्नुभन्दा अगाडि १३ लाखभन्दा बढीले कोरोना बीमा गरिसकेकामा उनीहरूले भने पुरानै मापदण्डअनुसार भुक्तानी पाउने छन् । यी सबैका कारण कोरोना बीमा अब स्वास्थ्य बीमामा परिणत भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल स्वयं बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “सामाजिक उत्तरदायित्वबाट सञ्चालन गर्न खोजिएको थियो, रामै्र थियो, राम्रैसँग गइरहेको थियोे तर यसलाई निरन्तरता दिन नसक्ने देखिएपछि त्यो बीमालेख नै अन्त्य गरेर अर्को ल्यायौँ । ”
त्यसै गरी नयाँ मापदण्डअनुसार अबदेखि कोरोना बीमाको एकल पोलिसी बिक्री नगर्ने निर्णय भएको छ । समितिले सामूहिक बीमालेख मात्रै जारी गर्ने निर्णय गरेको हो । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ का केही विषय सच्याउन बीमा समितिले निर्देशक राजुरमण पौडेल संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्