जन सरोकार

मध्यम तथा लामो दूरीमा १५ प्रतिशत सवारीसाधन, स्थानीय तहको रोक कायमै

मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम सङ्ख्यामा मात्रै बस सञ्चालन भएका हुन् । कोभिड–१९ को रोकथामका लागि सरकारले पहिलो पटक गत चैतमा जारी गरेको बन्दाबन्दीदेखि सार्वजनिक सवारीसाधन ठप्प थिए ।

सरकारले गत असार र साउनमा एक जिल्ला९९भित्र मात्रै सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको थियो । सवारीधनी र मजदूरले आज बिहान विश्वकर्मा पूजा गरेर बस सञ्चालन गरेका थिए ।

पहिलो दिन भएकाले सडकमा यात्रु पनि कम सङ्ख्यामा निस्केको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । अधिकांश सवारीसाधन काठमाडौँ उपत्यका बाहिर भएकाले पनि बिहिबार कम मात्रै सञ्चालनमा आएको हो । कोभिड–१९ को त्रास भए पनि आगामी दिनमा बिस्तारै सवारीसाधन र यात्रु बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अबका दिनमा दिन प्रतिदिन यात्रु बढ्ने छन् ।”

सरकारले अहिलेसम्म सार्वजनिक यातायातका लागि स्वास्थ्यसम्बन्धी कार्यबिधि बनाइसकेको छैन । लामो र मध्यम रुटमा बीचमा रोक्ने स्थान, खाजा र खाना खाने स्थानलगायतका कुरामा अझै स्पष्ट छैन । सबै चालक, सहचालक, यात्रुलाई यात्राका क्रममा स्वास्थ्य सावधानी अपनाउन महासङ्घले अनुरोध गरेको छ ।

चालक तथा सहचालक दुवैलाई माक्स, पञ्जा र सेनेटाइजर तथा सहचालकलाई फेस भाइजरको प्रयोग अनिवार्य गरिएको छ । त्यस्तै, महासङ्घले यात्रुलाई बस चढ्दा, ओर्लदा र खाना तथा खाजा खाने समयमा भीडभाड नगर्न अनुरोध गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा आजदेखि मध्यम र लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन् । यातायात व्यवसायी र मजदूरका सङ्घ÷सङ्गठनले पटक–पटक सरकारलाई सबै रुटमा सवारीसाधन सञ्चालनको अनुमति दिन अनुरोध गरेको थियो ।

उता कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै रामेछाप, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा चल्ने अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन ।

काठमाडौं उपत्यकामा रहेका अरनिको यातायात सेवा समितिका सात वटा काउन्टर खुल्ला भएका थिए । तर यात्रु नै नभएपछि टिकट काट्ने र गाडी छोड्ने भएन । अरनिको यातायात सेवा प्रालिका अध्यक्ष चित्रबहादुर कुँवर गाडीमा चढ्ने मान्छे नै नभएको बताउनुहुन्छ ।

‘हामीले सरकारले निर्णय गरेसँगै सबै गाडीहरुलाई बसपार्कमा ल्याएर तयारी अवस्थामा राखेका छौँ, यात्रु नभएपछि टिकट काट्ने काम नै भएन’ कुँवरले बताउनुभयो । एकातिर काठमाडौंबाट बाहिर जाने यात्रु नभएपछिको समस्या छ भने अर्कोतर्फ काठमाडौं आउन र जान स्थानीय प्रशासनले रोक लगाएका कारण सार्वजनिक यातायात सहज रुपमा संचालन हुन सकेका छैनन् ।

सम्बन्धित खबर

Back to top button