आज विश्वकर्मा दिवस, सरकारले मनाउँदैछ विज्ञान दिवस
वैदिक सनातन धर्म, संस्कृतिमा सीप, वास्तुकला तथा आविस्कारका देवताका रुपमा विश्वकर्मालाई पूजिन्छ र हरेक वर्षको असोज १ गते विश्वकर्मा दिवस मनाइन्छ । नेपालमा यसै दिन विज्ञान दिवस मनाउने गरिन्छ ।

यस वर्षको राष्ट्रिय विज्ञान दिवस साताव्यापीरूपमा ‘विज्ञान तथा प्रविधिको उन्नत विकास ः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा)का साथ मनाइँदैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको मूल समारोह समितिले दिवसका अवसरमा विज्ञान पत्रकारिता, एरोनोटिक प्रविधि, अन्तरिक्ष प्रविधि, उदीयमान प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि, जैविक प्रविधिका विधामा पुरस्कार घोषणा गरिने मन्त्रालयले जनाएको छ ।
दिवसका अवसरमा शिक्षा मन्त्रालयको समेत कार्यभार हेर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । नेपालमा अमृत साइन्स क्याम्पस स्थापनाको दिनलाई २०६९ मङ्सिर ८ गतेको नेपाल सरकारको निर्णयका आधारमा यो दिवस मनाउन थालिएको हो ।
विकसित मुलुकले विज्ञान र प्रविधिका क्षेत्रमा फड्को मारिसकेको भए पनि नेपालमा पर्याप्त लगानी र उचित वातावरणको अभावमा यस क्षेत्रको विकास हुन नसकेका पक्षमा दिवसमा अवसरमा समीक्षासमेत हुनेछ । नेपालमा हाल कूल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ३५३६ प्रतिशत बजेट यस क्षेत्रमा विनियोजित छ । दिवसका अवसरमा विभिन्न संस्था र निकायले साताव्यापीरूपमा कार्यक्रम सञ्चालन गर्नेछन् ।
मन्त्रालयका सचिव डा सुरेश आचार्यले दिवसमा विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, उत्कृष्ट प्रतिभालाई सम्मान र पुरस्कृत गर्ने, विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने र युवा शक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि वातावरण निर्माण गर्ने उद्देश्य लिइएको बताउनुभयो ।
उहाँले प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्दै यस क्षेत्रमा नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्