जन सरोकार

द्वन्द्वका घाइतेले उपचार नपाउँदाको पीडा

सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका कृष्णपुर नगरपालिका–६ बञ्जरियाका जीतबहादुर करियाकङ्ग्रहवा आर्थिक अभावले शरीरमा रहेको गोली निकाल्न नसक्दा कष्टकर जीवन बिताउँदै आएका छन् । बायाँ खुट्टा, कम्मर र घुँडामा लागेको गोली निकाल्न नसक्दा उहाँले असैह्य पीडा सहेर बस्नुपरेको छ ।

“गोलीकै कारण खुट्टा आधा मात्रै चल्छ”, उहाँले भन्नुभयो, “पीडा खपिनसक्नु छ । पीडा सहेर बस्नुबाहेक विकल्प छैन ।” उपचारका लागि धेरै ठाउँमा गुहार लगाए पनि कुनै निकायबाट सहयोग पाउन नसकिएको उहाँले बताउनुभयो । घरको आर्थिक अवस्था दयनीय भएकाले उपचार खर्च जुटाउन नसक्दा घरमै बस्नुपरेको दुखेसो उहाँले पोख्नुभयो । गोलीका कारण उहाँको खुट्टा आधामात्रै चल्ने गरेको छ ।

चिसोको बेला गोलीकै कारण कम्मर र घुँडा असाध्यै दुख्ने गरेको छ । गत वर्षसम्म राज्यका तर्फबाट आजीवन निर्वाह भत्तावापत रु छ हजार रकम मासिकरूपमा पाउँदै आएका उहाँले हाल त्यो भत्ताको रकमसमेत पाउने गरेका छैनन् । “एक वर्षअघिदेखि पाउँदै आएको भत्ताको रकम रोकिएको छ”, उहाँले भन्नुभयो, “पुनः मूल्याङ्कन गर्ने भनेपछि निवेदनसहित प्रमुख जिल्ला अधिकारीलाई मेडिकल रिपोर्ट र एक्सरे पेश गरे पनि भत्ताको रकम उपलब्ध हुनसकेको छैन ।”

विसं २०६२ मा कालिकोटको पिलीमा व्यारेक कब्जा गर्ने क्रममा जीतबहादुर घाइते भएका हुन् । घाइते भएपछि तत्कालै भारतको गुडाँगावँमा ११ महिना उहाँको उपचार गरिएको थियो । भारतबाट फर्केका उहाँले केही समय घरमै बसे पनि शरीरमा असैह्य पीडा हुन थालेपछि काठमाडौँस्थित टिचिङ हस्पिटलमा छ महिना बसे । गोली निकाल्नका लागि जटिल प्रकारको शल्यक्रिया गर्नुपर्ने भएकाले आवश्यक रकम जुटाउन नसक्दा उहाँ घरमै बस्दै आउनुभएको छ ।

“घरको आर्थिक अर्थावस्था कमजोर छ”, उहाँले भन्नुभयो, दैनिक औषधि खानुपर्ने हुन्छ । औषधिको रकम जुटाउनसमेत सक्ने अवस्था छैन ।” द्वन्द्वका घाइते भीमदत्त नगरपालिका–९ तिलकेनीका गजेन्द्र बोहरासमेत उपचार खर्चकै अभावमा घरमै बस्दै आउनुभएको छ । बोहराको कम्मरको जोर्नीमा लागेको गोली निकाल्न सकिएको छैन । गोली निकाल्नका लागि चिकित्सकले रु पाँच लाख जति खर्च लाग्ने भनेपछि उहाँले रकमको जोहो मिलाउन सक्नुभएको छैन । परिवारको अर्थावस्था कमजोर भएकाले रकमको व्यवस्था गर्न नसकिएको उहाँले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिका–३ की रीता चौधरीको शरीरमा लागेका बमका छर्रा निकाल्न नसब्दा उहाँले समेत पीडा खेप्दै आउनुभएको छ । द्वन्द्वका क्रममा तत्कालीन सुरक्षा फौजले धारापानी भन्ने स्थानमा बम प्रहार गर्दा छर्रा लागेको थियो । लोकतन्त्र आएपछि सबैका सपना पूरा हुन्छन् भनिए पनि लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि ज्यानको बाजी थापेर लडेका योद्धालाई राज्यले बेवास्ता गरेको पीडितहरूका भनाइ छ ।

“जुन शासन व्यवस्था ल्याउनका लागि लड्यौँ । त्यो व्यवस्था आइसकेको छ”, द्वन्द्वका घाइते रामबहादुर रानाले भन्नुभयो, “संविधान बनेको छ । राज्य व्यवस्थाको परिकल्पनाअनुरुप तीन तहका सरकार बनेका छन् । जसले व्यवस्था ल्याउनका लागि लड्यो त्यसको अवस्था दयनीय छ । उपचार खर्चसमेत नपाउँदा छटपटिए बाँच्नुपरेको छ । जुन राजनीतिक दलहरुलाई निकट सम्झिन्थ्यौँ । ती पनि टाढिदै गएका छन्”, घाइते भएर घरमा आएपछि हालचाल बुझ्नसमेत कुनै पार्टीको नेता नआएको उहाँले दुखेसो पोख्नुभयो ।

द्वन्द्व अन्त्य भएको १५ वर्ष बित्नै लागेको छ । द्वन्द्वका घाइतेका अवस्था दयनीय छ । घाइतेका उपचारको व्यवस्था राज्यले मिलाउनुपर्ने हो । सोधीखोजी नै नहुनु विडम्बना भएको अधिकारकर्मीको भनाइ छ । कञ्चनपुरमा मात्रै सशस्त्र द्वन्द्वका क्रममा घाइते भएकाको सङ्ख्या ६५ जना बढी छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button