राजनीति

सुरक्षित रहेर इन्द्रजात्रा मनाउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा पर्वको अवसरमा नेवार समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले इन्द्रजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारीका कारण यस्ता सामाजिक र सांस्कृतिक परम्परालाई पराम्परागत रुपमा आपसी भेटघाट, उपस्थिति र समारोहका साथ मनाउन कठिनाइ भएता पनि आफ्नो मौलिक संस्कृतिको जर्गेना गर्न स्वास्थ्यका मापदण्ड पालना गरेर हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

देवराज इन्द्रको पूजाअर्चना, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा अराधना गर्दै हर्षाेल्लासपूर्वक विशेषतः नेवार समुदायमा मनाउने परम्परा रहेको यस पर्वको आफ्नै मौलिक कला, परम्परा र संस्कृति रहेको छ ।

प्रधानमन्त्री देउवाले यस पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचको आपसी सम्बन्धमा विश्वास, सद्भाव, सहिष्णुता, सहयोग र भाइचाराको भावनालाई सबल बनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिनुभएको छ ।

उहाँले प्राचिन सभ्यता र संस्कारको अद्भूत संगमको इतिहास बोक्दै पुस्तौदेखि चलिआएको यस पर्वले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न सबैमा शक्ति तथा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button