काठमाडौंमा कोरोनाबाट एक सैनिकको मृत्यु
नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।
यसै गरी बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वासप्रश्वासमा समस्या भएपछि भदौ २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ २१ गते सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शनिबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको श्रेष्ठले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्