अनशनरत डा. केसीलाई अस्पताल लगियो, उपचार गर्न अस्वीकार
कर्णालीमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि प्रहरीले अनशनस्थलबाट अस्पताल लग पनि उहाँले उपचार गर्न अस्वीकार गर्नुभएको छ । पछिल्लो समय चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी उहाँ अनशनमा बस्नु भएको थियो ।
प्रहरीले केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा पुर्याएको थियो । माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा अस्पताल लगिएको भन्दै उहाँले कुनै उपचार नलिने अडान राख्नुभएको छ ।
अनशनको सातौं दिन आइतबार उहाँले अस्पतालको शय्याबाटै आफ्नो १९औं सत्याग्रह जारी रहेको जनाउनुभएको छ । केसीको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार दिउँसो नै चिकित्सकले अस्पताल लैजान सुझाव दिएका थिए ।
उपचारमा संलग्न प्रतिष्ठानको चिकित्सक टोलीले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको जनाएको छ । केसीको रगतमा चिनीको मात्रा अति कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने अवस्था रहेको भन्दै रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि बढेर गएको बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्