‘बजेट सटडाउन’ तोड्ने सरकारको तयारी- विनियोजन विधेयक आज पारित गराउने कार्यसूची
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण अबरुद्ध हुँदैआएको प्रतिनिधिसभाको आज बस्ने बैठकबाट प्रतिस्थापित विनियोजन विधेयक पास गर्ने तयारी संसद सचिवालयले तयारी गरेको छ ।

बजेटको प्रतिस्थापन विधेयक यही असोज १२ गतेभित्र पारित गर्ने सरकारको प्रयास छ । प्रतिनिधिसभाले आज विनियोजन विधेयक गरेमा मंगलबार बोलाइएको राष्ट्रियसभा बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।
त्यसपछि सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि त्यसपछि सांसदहरुले हालेका संशोधनमाथि छलफल हुन्छ र उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिनुहुनेछ ।
त्यसपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जान्छ । सरकारको बहुमत भएकाले संशोधन प्रस्ताव अस्वीकृत हुने देखिन्छ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने र अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।
विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी तयारी छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराउनुभएको छ ।
२३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले भोलिको बैठकमा पनि नाराबाजीलाई निरन्तरता दिने बताएको छ ।
तर, सत्ता गठबन्धन एमालेको नाराबाजीले कुनै असर नगर्ने बताएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमालेले सहयोग गर्छ र अनावश्यक विषय उठाउन छोड्छ भन्ने विश्वास छ । सहमति भएन र नाराबाजी जारी नै राख्यो भने पनि बजेटलाई रोक्ने छुट सरकारलाई छैन ।
प्रतिक्रिया राख्नुहोस्