एनआरएनए जापानद्वारा संविधान दिवसको शुभकामना
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापाने नवौं संविधान दिवसको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

एनआरएनएले एक शुभकामना सन्देशमार्फत नेपालका विभिन्न आन्दोलन, क्रान्तिबाट राजनीतिक परिवर्तन भै प्राप्त उपलब्धिको रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी स्मरण गर्दै शुभकामना दिएको हो ।
एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जारी गर्नुभएको विज्ञप्तिमा लोकतान्त्रिक पद्दतिबाट निर्वाचित प्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको चाहना यहि संविधानमार्फत् पूरा भएको उल्लेख गरिएको छ ।
त्यस्तै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको अनुभूति भएको जनाइएको छ ।
विज्ञप्तिमा एनआरएनएले संचालन गरेको एकपटकको नेपाली सधैँको नेपालीको अभियानलाई नेपाल सरकारले गम्भिरतापूर्वक मनन गरी ‘नेपालको संविधान २०७२’ को कार्यान्वयनमार्फत आवश्यक पर्ने कानुन निर्माण गरि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिने नियमावली स्वीकृत हुनु हामीहरूका लागि महत्वपूर्ण उपलब्धि रहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्