जल/वातावरण

स्थापनाको एक सय १६ वर्षपछि आइसियु पायो भक्तपुर अस्पतालले

नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको १ सय १६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आएको छ । वीर अस्पताललाइ नेपालको पहिलो सरकारी अस्पतालका रुपमा लिइन्छ । यही अस्पतालबाट आधुनिक चिकित्सा सेवाको शुरुआत समेत भएको बताइएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ असार १७ गते १५ श्ययाको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा अस्पताल स्थापना गर्नुभएको थियो । इतिहासकारका अनुसार यसैलाई पछि ‘भक्तपुर अस्पताल’ नामाकरण गरिएको हो ।

केही वर्षौँदेखि प्रयोगमा नआएका आइसियुका भेण्टिलेटरसहितका उपकरणसहित वाग्मति प्रदेश सरकारले पठाएको सामाग्रीबाट आइसियु सेवा पहिलो पटक सञ्चालनमा ल्याएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो । २०२८ सालमा ५० श्ययाको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ श्ययाको प्रसूति गृह थप गरी ७५ श्यया भएको थियो । अस्पतालमा गत बिहीबारदेखि आइसियु सेवा शुरु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।

सरकारले सो अस्पताललाई कोरोना हव अस्पताल समेत तोकेको छ । यसपछि पाँच वटा भेन्टिलेटरसहित ६ श्ययाको आइसियु र कोरोना सङ्क्रमित राख्ने १६ श्ययाको आइसोलेशन एवं १० श्ययाको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेशन तयार गरी सेवा सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आइसियु अत्यावश्यक भइसकेको थियो, मैले यहाँको मेसुको कार्यभार सम्हालेपछि अस्पतालको सिंगो समूह मिलेर आइसियुको ब्लक निर्माणदेखि अन्य सबै तयारी पुरा गराँै । वाग्मति प्रदेशका सामाजिक विकास मन्त्रीले जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएपछि आइसियु सेवा सञ्चालनका लागि अस्पतालले करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्यायौ ।”

आइसियुको लागि थप एक श्यया र दुईवटा भेण्टिलेटर प्रदेश सरकारको आर्थिक सहयोगबाट जडान गरिएको छ । अस्पतालले कोभिडको महामारीको बीचमा पनि सबै सेवा जारी राखेको छ । अहिले कोरोनाका पाँच जना आइसियुमा, १३ जना लक्षण देखिएका र १० जना आइसोलेशनमा उपचार भइरहेको छ । त्यसैगरी विद्युत प्राधिकरण खरिपाटीस्थित आइसोलेशनमा ९७ जनाको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याई औषधि खरिदामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवा समेत दिने व्यवस्था गरेको मेसु डा. गौतमले जानकारी दिनुभयो । त्यसैगरी पाठेघरको निःशुल्क अप्रेशन तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालले पेईङ्ग क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडि सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र विहान ९ बजे अगाडि पेइङ्ग सेवा सञ्चालनमा ल्याएको हो । साथै बिभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरुको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस भनेर गरिने भिडियो एक्सरे अर्थात एनोमली स्क्यान र दुरबिन प्रबिधिबाट अप्रेशन सेवा समेत सञ्चालनमा ल्याएको छ ।

भक्तपुर अस्पतालमा कुनै पनि सेवा बन्द नरहेको जानकारी उहाँले भन्नुभयो, “अन्त अस्पतालले सेवा दिदैनन् भनेर कतिपय बिरामी सिधै यहीँ आउँछन्, कतिपय बिरामी निजी अस्पतालले भर्ना लिन मानेन भनेर विभिन्न अस्पताल चाहारेर यहाँ आइपुग्छन्, यो सरकारी अस्पताल हो, यहाँ आएका बिरामीलाई फर्काउनु भएन, त्यसैले सबै सेवा सञ्चानल गरेको छौ, केही सेवा थप गरेका छौ ।”

कोभिड ब्लकसमेत सञ्चालनमा आएपछि अन्य रोगका आकस्मिक सर्जरी गर्नु परेमा बिरामी राख्ने ठाउँको अभावको भएको उहाँको भनाई छ । अस्पतालको एउटै कम्पाउण्ड भएपनि कोभिड र नन कोभिडका विरामीको उपचारमा फरक ब्लक भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएको दाबी गर्दै उहाँले ठाउँको अभावले निकै समस्या भने पारेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख एवं भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलालले अस्पताललाई प्रदेश अस्पताल नभइ केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालको म अध्यक्ष हुँदा २०७२ सालमा रु. १ करोड ५० लाखको बजेटमा आईसियु स्थापना गर्न सामान ल्याए तर कर्मचारीले आईसियु चलाउन दिएनन्, मैले आईसियू चलाउन ठाउँ, पाँच श्ययाको बेड, तीन भेण्टिलेटर तयार पारेर अपाङ्ग मैत्री भ¥याङ्ग र अन्य ओपिडि सेवा थप गराए , अस्पतालको स्वरुप नै फेरियो । चाहे गर्न सकिन्छ भन्ने नमूना अहिल बन्यो ।”

अस्पताल जिल्लाको लागि मात्रै नभई पूर्वका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको छ । अहिले अस्पताललाई थप भवन अभाव हुँदा यसतर्फ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ध्यान जानु आवश्यक देखिन्छ ।

सम्बन्धित खबर

Back to top button