जन सरोकार

काठमाडौंमा विद्यालय खुल्दा बढ्यो चिन्ता

महानगरले तयार गर्यो विद्यालय सञ्चालन गर्न २७ बुँदे मापदण्ड

कोरोना भाइरस संक्रमण दर कम हुँदै गए पनि जोखिम कायमै रहेको अवस्थामा असोज १ गतेदेखि उपत्यकाका विद्यालयहरु भौतिक रुपमा संचालनमा आएपछि चिन्ता बढेको छ ।

विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरुले पूर्ण खोप लगाए पनि बालबालिकाहरुले खोप नलगाएको अवस्थाले गर्दा जोखिम नटरेको अबस्थामा तत्काल भौतिकरुपमा विद्यालय सञ्चालन गर्नु घातक हुने विज्ञहरुको सुझाव छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि हतारमा विद्यालय नखोल्न आग्रह गरिसकेको छ ।

तर, विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी भौतिक रुपमा संचालन गर्न सक्ने र यसको अनुगमन स्थानीय निकायले गर्ने भए पनि आफूखुसी विद्यालय संचालन गरिरहेको आरोप छ ।

गत भदौ ३१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारप्ी गर्दै विद्यालय सञ्चाल भौतिकरुपमा सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न आग्रह गरेको भए पनि काठमाडौंका कतिपय विद्यालयहरु स्थानीय तहसँगको समन्वयविना नै सञ्चालन भएपछि महानगरपालिकाले चासो दिएको हो ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार जिल्ला प्रशासन कार्यालयले सकेसम्म दशैअघि विद्यालय सञ्चालन नगर्न आग्रह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो आग्रह दशैअघि सकेसम्म विद्यालय सञ्चालन नगर्नु भन्ने थियो तर विद्यालय सञ्चालकहरुले सबै क्षेत्र खुलेको अवस्थामा विद्यालय पनि खुलाउनु पर्छ भन्ने आग्रह गरेअनुसार स्थानीय तहको समन्वयमा खोल्न पाउने निर्णय गरेका हौँ” ।

स्थानीय तहसँगको समन्वयविना नै बिद्यालयहरु सञ्चालन भएको पाइएमा स्थानीय तहले नै कारवाही गर्नसक्ने उहाँले बताउनुभयो ।

यता काठमाडौं महागरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले भने महानगरमा अझै विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय भैनसकेको बताउनुभयो । यसबारेमा निर्णय गर्न मंगलबार नगर शिक्षा समितिको बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

सो बैठकले महानगरमा विद्यालयहरु कसरी सञ्चालन गर्ने, कहिले सञ्चालन गर्ने भन्ने निर्णय गर्ने सुवेदीले बताउनुभयो । आफूहरुले विद्यालय सञ्चालन गर्न सकिने विषयमा २७ बुँदे मापदण्ड तयार पारेको र मंगलबारको बैठकमा उक्त मापदण्डमाथि छलफल गरिने उहाँले बताउनुभयो ।

विद्यालयहरु औपचारिक रुपमा कहिले र कसरी सञ्चालन गर्ने भन्ने विषयमा बैठकको निर्णयपछि टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.