किन हराए वामदेव ?
२०५४ सालमा ने.क.पा. एमालेको छैटौं महाधिवेशन नेपालगञ्जमा आयोजना गरिएको थियो । एउटा पक्षधरहरु पार्टी फुटाएर वामदेव गौतमलाई महासचिव बनाउने भन्ने संकल्प गरेर जाँदै थिए । त्यसरी पार्टी फुटाएर ४० जना सांसद लिई वामदेवले सरकारको नेतृत्व गर्न सक्छन् भन्ने उनीहरुको तर्क थियो । त्यस भन्दा पहिले जम्मा जम्मी २० जना सांसद भएको रा.प्र.पा. विभाजित गरी १०–११ सांसद लिएर पहिले (एमालेको साथसमर्थनमा) लोकेन्द्र वहादुर चन्द्र प्रधानमन्त्री भई सरकार चलाएका थिए ।

त्यो सरकारलाई ढाले–फालेर आफ्नो “गोटी सरकार” बनाउने, गिरिजा प्रसादको षड्यन्त्र भयो । सूर्यवहादुर थापालाई ने.का.ले समर्थन दियो । सू.व.था. त्यस्तै १० जनाजति रा.प्र.पा. का सांसदको साथ लिई प्रधानमन्त्री भएका थिए । त्यही देखेका, सत्ता र शक्तिको आडमा नेपालमा पनि हवाला, हुण्डी, एल्.सी. देखि सून तस्करी गरे–गराएर तहल्का मच्चाउने हुटहुटी उनीहरुको (एमाले फुटाउनेहरुले) थियो । परिवन्दले भनौं अथवा संयोग– त्यसरी योजना बनाउनेहरु देखी उनीहरुको त्यस्तो ग्याङ्मा कोको अगाडि र उनका पछाडि कुन कुन व्यक्ति थिए । तिनीहरुको सार्वजनिक छवि कस्तो थियो? त्यो सबैको रोहवरबाट उम्किन खोज्दा खोज्दै पनि उभिनु र फट्के किनाराको साक्षी हुनु परेको थियो पंक्तिकारले ।
तर “तपाईहरुको पार्टी महाधिवेशन हो, त्यहाँ अरु जे जे गर्नुहुन्छ, त्यो मेरो सरोकारको विषय नहोला । तथापि पार्टी फुटाउने काम कुनै हालतमा पनि न तपाईहरुको न देश र नेपालका सम्पूर्ण वामपन्थी र उनका समर्थक शुभेच्छुकहरुको, न त भोलिका आफ्नो हातमा हँसिया–हथौडा अंकित लाल झण्डा बोक्नेको हितमा हुनेछ । त्यतिमात्र होइन “अहिले वामदेवलाई प्रधानमन्त्री वनाइदिन उल्क्याउने र चारतार झण्डा बोक्ने ती तथाकथित प्रभावशाली (यहाँ नाम नदिउँ)” नेता र उनको पार्टीका लागि नै हितकार हुनेछ । “उनीहरुका अगुवालाई मैले विनम्रता पूर्वक विन्ती भाउ गरें मानेनन् । त्यसरी विन्ती भाउ गर्दा देख्ने सुन्ने र मेरो कुरा समर्थन गर्ने व्यक्ति पनि तिनीहरुलाई उचाल्ने उक्साउने मध्येकै रहेछन् । उनी कालान्तरमा महान्यायाधिवक्ता भएपछि मात्र थाहा भयो ।
तेस्रो धारा केन्द्र खोई ?
नेपालगञ्जमा छैटौं महाधिवेशन सकियो । मनमोहन अघिकारीसहितका सबै नेता कार्यकर्ता फर्किए । “पार्टी फुट्यो” भन्ने सुनियो । पंचायतकालमा क्षयरोग पीडित भई कालीमाटी स्थित क्षयरोग उपचारकेन्द्रमा उपचारमा रहनुहुँदा हिक्मतसिंह भण्डारीसँग मनमोहनलाई भेट्न गएको थिएँ । नामले पहिलेदेखि नै चिनेको भए पनि पहिलो पटक त्यसरी (कालीमाटीमा) भेट भएदेखि मैले थप आदरपूर्वक हेर्ने नेता भएको नाताले कमलाजी र म वहाँलाई भेट्न गयौं (महाराजगञ्जस्थित प्रमुख प्रतिपक्षी दलको नेता निवासमा) । वहाँ हनहनी ज्वरो आए पनि ज्वरोले भन्दा पार्टी फुटेको दिनदेखि निकै तनावमा भएको, निदाउनै नसकेको, त्यस्मा (पार्टी फुटाउनेमा) देखापरेका कतिपय नेताका नकीवदी समेत सुनाउन थाल्नु भयो ।
यसै पनि वयले भन्दा पनि धेरै समयदेखिको रुग्णताले कमजोर वहाँको कायलाई दृष्टिगत गरी “दाई अब कुनै पट्टि नलागीबीचमा “तेस्रो केन्द्र” वा धारा खडा गर्नेतिर लाग्दा दुवैलाई दवाव पर्ने र दुवै वाध्य भई छिट्टै केन्द्रीभूत हुन्थे कि ?” प्रश्नको रुपमा प्रस्ताव राखें । वहाँले “त्यो काम म गर्दिन ।” वहाँले दुवै तर्फका केहीको नाम लिनुभयो । उनीहरु यति हठी छन् कि पार्टी “भाडमा जाओस् भाँडमा जाओस् त्यो पनि मतलव छैन । एकले अर्कालाई सिध्याएरै छाड्ने एकमात्र लक्ष्य बोकेका छन् । तर मैले एउटा पक्षमा लाग्नै पर्छ । वीचमा बस्ने सोचले गणेशमान हुन्छु, वनाइन्छ । एक्लिन वा एक्ल्याइन पुग्छु । म ‘आइसोलेट’ हुन चाहन्न ।”
आखिरमा वहाँले एउटा पक्ष लिनुभयो । दुईतिर वाँडिन पुगेको ने.क.पा. एमालेलाई एकीकृत हुन गर्न दवाव दिनेबीचको शक्ति–समूह वा “तेस्रो केन्द्र” जे भनौं त्यस्तो संयोजनकारी वा मध्यस्थकर्ता देखापरेन । ने.क.पा. फुटाएर, लडाएर निकै ठूलो खुशी मनाएका (खास गरी ने.काका प्रभावशाली)हरुले ३–४ वर्ष पछाडि आफ्नै पार्टी फुटाएर त्यही नियति भोगे । त्यो अतीतको पाटो र वाटोतिर यत्ति ।”
समकालीन कम्युनिष्ट पार्टी, तिनका नेता कार्यकर्ताहरुदेखि उनका शुभेच्छुक, समर्थक, स्वतन्त्र वुद्धिजीवी, पेशा, व्यवसायीहरुलाई “माक्र्सवाद, लेनीनवाद, माओविचार धारा”प्रतिको मोहले हो कि वाम आवरणमा आफूलाई देखाउँदा जे जस्तोसुकै अवसर पनि हात लाग्न वा पार्न सकिन्छ भन्ने मनोविज्ञानले ”कम्युनिष्ट” वनाइराखेको छ ? त्यसबारेमा यत्रतत्र, सर्वत्र जति वहस तर्क, विर्तक, कुर्तक भइरहेछन् आइरहेछन् । त्यसबारेमा यहाँ कुन ठीक कुन बेठिक तर्क हो भन्ने थप वहस गर्न उचित छैन, नगरौं ।
यद्यपि एउटा स्वतन्त्र पत्रकारको धर्म रक्षा गर्दै लेख्ने कर्म गर्नुपर्ने भएको नाताले पनि होला ने.क.पा. एमालेदेखि दर्जनौं ठाउँमा आ–आफ्नो कम्युनिष्ट पार्टीको ‘नाम पाटी’ (साइनबोर्ड) टाँस्नेहरुसम्महरुको मात्र होइन । नेपालमा वहुदलीय शासन प्रणाली अनुसारका जुनसुकै पनि कालखण्डमा देशको शासनसत्ताको प्रत्यक्ष÷अप्रत्यक्ष नियन्ता बन्दै आएको मौजूदा सरकारको नेतृत्व गर्ने ने.का. पार्टीको आगामी १४ औं महाधिवेशन उप्रान्त पनि पार्टी अविभाजित देख्न नपरोस्” भन्ने लाग्छ ।
त्यति हुँदाहुँदै पनि नेपालमा दल यति सहजै र सानातिना स्वार्थवश नै (पार्टीहरु) फुट्ने, (निर्वाचनमा मत माग्न जाने बेलामा बाहेक) कहिल्यै धेरैले जनताको संझना नै गर्दैनन् । जनजीविका उनको पीर, पीडा आर्थिक दुरावस्थाबारे वेखवर भए देखिए, किन ?
“जनता वा मतदाता”का कुरा छोडौं । सत्ता, शक्ति र स्वार्थका लागि पार्टीको आवश्यकता त पर्ला नै ! त्यो स्वार्थ परिपूर्तिका निमित्त पनि पार्टी र पार्टी एकता हिजोमात्र नभई भोलि पनि आवश्यक देखिएको हुनुपर्ने थियो सबैलाई । तर पनि उहिलेदेखि अहिलेसम्म ने.क.पा. मात्र होइन । जुनसुकै पार्टी टुट्दा, फुट्दा नेताहरुबीच मनमुटाव, वैमनस्थ हुँदा पनि मध्यस्थ्य वा केन्द्रमा बसेर निर्णायक भूमिका निर्वाह गर्ने ह्याउ, हिम्मत र आँट गर्ने नेता, कार्यकर्ता, समूह, समर्थक, शुुभेच्छुक कोही जन्मेको देखिएन किन ?
यहाँ भर्खरै फुटे, टुटेको ने.क.पा. एमालेको विषयमा नै चर्चा केन्द्रीत गरौं । मैले थाहा पाएदेखि जहिलेसुकै पनि पार्टी फुट्दा फुटाउँदा (देखाउनै सही) आफूले “नेपाल राष्ट्र, नेपाली जनता र जनताको जनजीविकालाई छोड्न नसकेको, तर अर्काेले लत्याउने, कम्युनिष्ट दर्शन, सिद्धान्त छोड्दै सामन्ती जनविरोधी अवसरवादी वाटो लिएकोले आफ्नो पार्टीको नीति दर्शन सिद्धान्त रक्षार्थ उभिनु परेको” भन्दै आएका हुन्थे ।
यसै सन्दर्भमा आम सर्वसाधारणले सरेआम के पनि भन्ने गरेको सुनिन्थ्यो भने “नेपाली काँग्रेसले सडक आन्दोलन गर्न र कम्युनिष्टहरुले शासन सत्ता संचालन गर्न जान्दैनन् ।” (नेपालमा लोकतन्त्र, संवैधानिक राजतन्त्र, गणतन्त्र) जस्तोसुकै शासन व्यवस्था आए ल्याए पनि शाससत्ता नियन्ता भने सधैं पूूँजीवादी चरित्रको ने.का. नै हुने ? संभवतः त्यस्तै आमधारणालाई गलत सावित गर्ने र “परिवर्तनको प्रयोग गर्ने” चाहनाको कारण समेतले नेपाली जनताले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई झण्डै दुुई तिहाई प्रचण्ड बहुमत सहितको सरकार बनाउने, पाँच वर्षसम्म स्थिरता, सहितको जनताको नयाँशासन सत्ताको औचित्य साबित गर्ने जनादेश प्राप्त भयो, त्यस्तो दुुई तिहाई करिबको बहुमत लिएर वालुवाटार र सिंहदरबार प्रवेश गरेको थियो,वाम पार्टीले ।
तर साढे तीन वर्ष पुग्दा नपुग्दै एकतिहाई लिएर दुवै ठाउँबाट निस्कनुपर्दाको पीर, पीडा, रिस, आव्रmोश पोख्न जसरी यत्र, तत्र ‘भाँडताल’मा प्रस्तुत भएर अर्काका थाप्लोमा दोषको थुप्रो खन्याएरै ने.क.पा. नेतृत्वले आगामी निर्वाचनमा दुुईतिहाइ त के स्पष्ट बहुमतको सरकार बनाएर देखाउने गुड्डी हाँक्नु पनि पञ्चतन्त्र कथाका सोम शर्माका बावुको जस्तो करोडपति बन्ने सपना देखाईभन्दा फरक छैन, होइन । त्यस विषयमा धेरैपटक यही फरक पाटोको विभिन्न स्तम्भमा चर्चा गरिसकिएको हुँदा यहाँ थप कुरा नगरौं ।
ने.क.पा.को नेतृत्वको छवि, कार्य कुशलता, योग्यता पृष्ठभूमि र उनीप्रतिको जुन विश्वासले होस्, अथवा २०४७ सालदेखि मात्र पनि सबै कालभरि सत्ता नियन्ता बनेको काँग्रेस र अन्य भरपत्यारलायक पार्टीहरुका नीति नियत र समग्र गतिविधिबाट आजीत भएकोले पुुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको विरासत बोकेको “पार्टीलाई पनि शासनको बागडोर सुम्पिएर प्रयोग किन नगर्ने भन्ने आमधारणा बनेर होस् । ने.क.पा. एमालेले हिजो जसरी माओवादी सहित झण्डै दुुईतिहाई बहुमत (एमाले एक्लैले बहुमत) नजीक पुुगेर सबैभन्दा ठूलो दल जुन बन्यो, यही र यस्तै पार्टीभित्रको भाँडभैलो देखे, भोगेका जनता अझै एमालेकै पक्षमा सोहोरिन्छन् । एमाले सत्तामा दोहोरिन्छ भन्ने सोच राख्ने सपना देख्नु भनेको या त जनता, कार्यकता, मतदातालाई आजसम्म देखाएको विकास, समृद्धि समुन्नतिको लालीपपबाट झुुक्याइन्छ, लोभिन्छन् भन्ने ठान्नु हो । या त आम मतदाताले नेता, पार्टी कार्यकर्ता जतिसुकै भ्रष्ट, दुुर्गन्धित, ठुला ठेकेदारको आवरणभित्रका ठगदार, माफिया, कमिशन एजेण्टका किनुवा दास, भएका किन नहोउन्, आजसम्म जसरी सूर्य चिन्हमा छाप लगाई यो अब पनि त्यसैमा लगाइन्छन् भन्ने–ठान्ने छन् भन्ने सम्विभ्रमको मनोरोग ग्रस्त छन् भन्ने ठान्नु हो ।
यस्तो स्थितिमा भोलिको निर्वाचनमा भोग्नुपर्ने सम्भावित नियति नियाल्दै विलखवन्द बनेका “एमाले भन्न पनि लाज, शर्म मान्ने तर एमाले छोडिसकें भन्न पनि नसक्ने धर्मसंकटमा परेका पार्टीका प्रतिवद्ध कार्यकर्तादेखि समर्थक, शुुभेच्छुक र सहानुुभूति राख्नेहरुले यसबेला तत्कालीन महासचिव मदन भण्डारीको “वामदेव विनाको एमाले लुलो हुने, वामदेव सहितको पार्टी (एमाले) धुलो हुने” खतरातर्फ जुन संकेत गरेका थिए, त्यो झलझली संझिरहेका हुन सक्छन् ।
वामदेव किन हराए ?
“डुब्केको बिन्केका सहारा” अहिले (झण्डै ३ वर्षदेखि नै) एमाले सैद्धान्तिक, सांगठनिक र समग्र दृष्टिमा राजनीतिक क्षयीकरणको बाटोबाट निरन्तर ओरालो लाग्दै, पतनको पीँधमा पुग्दै गरेको देख्नेहरुले आश्चर्य मानी प्रश्न गरिरहेछन् । किन वामदेव गौतम निष्कृयमात्र नभई तमासे भएर बसेका छन् । कतै पनि देखिएका छैनन् ? पहिले सांसद हुन नपाएको वेलासम्म निकै क्रियाशील भएका उनलाई के.पी. ओलीले राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित गरेपछि “राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन हुनुपर्ने” कुरा गरेपछि आफूकेन्द्रित राजनीतिको मुद्दा उठाएको भन्नेहरुले एक्ल्याएर लखेटे ?” कि पत्नी तुलसा थापा (गौतम) लाई मन्त्री नवनाई दिएकोले के.पी.सँग टाढिए ? या नयाँ पार्टीमा जाँदा भविष्य देखेनन् ?
केही दिन पहिले (२१ भदौ २०७८ मा) निर्वाचन प्रणालीमा आमूल परिवर्तन गरौं (हेरौं उक्तदिनको नयाँ पत्रिका, पेज ६ भन्ने ले किन उपेन्द्र यादवको पार्टी समेत सहभागी भएको सरकारले सहजै दुुई तिहाई वहुमतको साथ पाएकै थियो ? किन त्यसैबेला सशक्त रुपमा कुरा उठाएर संविधान संशोधन नगराएको र अहिले वेमौसमी कुरा उठाएको ? के वामदेव समग्रमा हिजोसम्मका वामदेव नरहेर “ठाम–पाम खाम” देव भए ?
नत्र (त्यति बेला एमाले दुर्घटनाको मोडमा पुुगेको संकेत पाउने बेला)देखि नै तेस्रो समूहको शक्ति निर्माणका माध्यमबाट पार्टी तोड्न नदिई जोड्ने भूमिका निर्वाहमा लागेका हुन्थे । यस्तो संकट र विघटनको संघारमा पार्टी पुगे–पुु¥याइएका बेला किन दुवैलाई “वीन वीन”को वा सम्मानवोध हुने गरी यसरी जानुपर्छ भनेर भन्न अग्रसर देखिएनन् ? स्वयं कहिले कता ? कहिले कता ?? देखिएपछि “घरको ….न घाटको” भएको महसूस गर्दै “किन चाउरिइस मरीच आफ्नै रागले” भएका हुन् ? यी र यस्ता अनेक प्रश्नले वामदेवलाई ठुँगिरहेकाछन् भन्ने धेरै शुुभेच्छुकहरुलाई लागरहेको होला ।
…..“आशावलवती राजन् ! शल्यो जेष्यति पाण्डवान्” वादीहरुले अझै त्यस्तो भूमिका खेल्ने जमर्काे वामदेवले गर्लान् ? धेरैको यही र यस्तै ठनाई देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्