जन सरोकार

११ वर्षपछि पक्राउ परे डा भक्तमानको अपहरणमा संलग्न पण्डित

चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौँडा इजलासको विसं २०७० माघ २१ को फैसलाले उनलाई नौ वर्ष कैद र रु ५० हजार जरिवाना सुनाएको थियो ।

तत्कालीन मुलिकी ऐन, (२०२०) को अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं बमोजिम सात वर्ष कैद र सोही महलको ७ नं बमोजिम दुई वर्ष थप कैद गरी जम्मा नौ वर्ष कैद तोकिएको थियो ।

त्यसपछि पण्डित फरार हुँदै कहिले नेपाल त कहिले भारतमा लुकेर बसेका थिए । पछिल्लो समयमा नेपाल प्रवेश गरेको सूचना पाएपछि केही अघिदेखि सिआइवीको टोलीले उनको खोजी थालेकोमा मङ्गलबार पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

अपहरणमा संलग्न नुवाकोटका बद्रिप्रसाद ढुङ्गाना, काठमाडौँका गौतम योञ्जन, भारतका रोहित पालिवाललगायत पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त भनिएका नुवाकोटका भीमसेन पण्डित अझै फरार छन् । भारतमा रहेका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । उनी डा श्रेष्ठको अपहरणपछि राख्ने ठाउँको व्यवस्थापनमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

विसं २०६७ जेठ ४ मा चितवनको भरतपुर महानगरपालिका–१०, साबिकको भरतपुर नगरपालिका–१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कँदै गर्दा स्थानीय हाकिमचोक नजिकको भित्री सडकबाट डा श्रेष्ठलाई अपहरण गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणपछि उहाँलाई काठमाडौँ र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाई राखिएको थियो । अपहरण भएको १८ दिनपछि फिरौती लिएर डा श्रेष्ठलाई अपहरणकारीले छाडेका थिए । अपहरणको चार दिनपछि उहाँको ब्रिफकेस चितवनको मुग्लिन नजिक घोप्टेभिरमा फेला परेको थियो ।

अपहरणकारीलाई उहाँका परिवारले फिरौतीबापत भारतमा साढे तीन किलो सुन (तत्कालीन मूल्यअनुसार रु एक करोड १० लाख पर्ने) बुझाएपछि डा श्रेष्ठ विसं २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपहरणमुक्त हुनुभएको थियो ।

त्यो बेला उनीहरुले कल बाइपास गरेर परिवारसँग सम्पर्क गर्ने गरेका थिए । यसअघि काठमाडौँ महानगरपालिका–४ बस्ने ४१ वर्षीय गौतम योञ्जनलाई पनि सिआइवीको टोलीले नै काठमाडौँबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.