जल/वातावरण

नदीनाला बहाव बढ्दै, बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता, राजमार्ग अबरुद्ध

पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।

ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभयो ।

प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका–१४ मा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको केन्द्रका प्रमुख वस्तीले राससलाई बताउनुभयो । यस्तै बाग्लुङमा पनि विपद्मा परेर एक जनाको ज्यान गएको छ ।

लगातारको वर्षाका कारण नदीनालामा बहावसमेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ । यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १÷२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसै गरी अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताउनुभयो ।

राजमार्गमा पहिरो आएको र केही स्थानमा सडक भासिएपछि यातायातका साधन चल्न कठिनाइ भएको छ । सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ ।

राजमार्गमाथि बनाइएका शाखा सडक खन्दा व्यवस्थापनमा ध्यान नदिइएका कारण राजमार्ग अवरुद्ध हुने गरी पहिरो आइरहेकाले सडक विभाग छिटो राजमार्ग सञ्चालनमा खटिएको जनाइएको छ ।

धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण राजमार्ग सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

जताततै पहिरो आएका कारण सडकमा एकतर्फी यातायात सञ्चालन भएको छ । सडकका विभिन्न स्थानमा डोजरलाई तयारी अवस्थामा राखिएको छ । प्रहरीले सवारी साधनलाई सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ ।

त्यस्तै अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि सो राजमार्गअन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ ।

पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताउनुभयो ।

त्यसैगरी भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको छ । यसैबीच राक्सिराङ गाउँपालिकामा पहिराले पशुचौपायासमेत पुरेको खबर आएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.