राजनीति

स्यानिटरी प्याडमा कर वृद्धि भएको नभएको अर्थको प्रष्टोक्ति

सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको पुनः स्पष्ट पारेको छ । सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्यानिटरी प्याड आयातमा आव २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको र कुनै पनि वृद्धि नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले भनेको छ, “वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौँ ।”

स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर पाँच प्रतिशत मात्रै कायम गरिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले भनेको छ, “स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो ।”

ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरूको भ्रममा नपर्न मन्त्रालयले अनुरोध गरेको छ ।

राजश्व सचिव कृष्णहरि पुस्करले आज नै स्यानिटरी प्याण्डमा कुनै पनि कर वृद्धि नगरिएको स्पष्ट पारिसक्नुभएको छ । उहाँले स्यानिटरी प्याडमा कुनै कर, दस्तुर, महशुल वृद्धि नगरेको र स्यानिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको बताउनुभएको थियो ।

मन्त्री शर्माले गत भदौ २५ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७८ को बुँदा नं ७३ मा करको विषयमा केही उल्लेख छैन । सो बुँदाले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्य राखी छुटको व्यवस्था गरिएको छ ।

मन्त्री शर्माले प्रस्तुत गर्नुभएको चालु आवको बजेटमा ‘स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरू भएको मितिले ती वर्षसम्म लाग्ने करमा शत प्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट हुनेछ’, भन्ने उल्लेख छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७७/७८ मा नेपालमा रु एक अर्ब १७ करोड ७४ लाख बराबरको स्यानिटरी प्याड आयात भएको देखिन्छ । ती प्याड र टेम्पोनबाट नेपाल सरकारले रु ३४ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा मात्रै रु आठ करोड ७९ लाख बराबरको स्यानिटरी प्याडल आयात भएको छ । त्यसबाट रु दुई ५६ लाख राजस्व सङ्कलन भएको छ । जानकारका अनुसार देशभित्र रु तीन अर्ब बराबरको स्यानिटरी प्याड र टेम्पोन खपत हुने गरेको छ । नेपालमा एकाध उद्योग सञ्चालमना छन् ।

भन्सार विभागका अनुसार भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकलगायत मुलुकबाट नेपालमा स्यानिटरी प्याड र टेम्पोन आयात हुने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.