पिसीआर परीक्षण : सरकारी अस्पतालमा रातभर पालो कुर्नुपर्ने, निजीको ब्रह्मलुट

सरकारले भदौ २८ गते कोरोना संक्रमण भए नभएको थाहा पाउन गरिने पिसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरेको भए पनि निजी अस्पतालहरुले भने जम्मा चार सय रुपैयाँ मात्र घटाएका छन् । अहिले सरकारी अस्पतालमाभन्दा निजी अस्पतालहरुमा पिसीआर परीक्षण गर्नेको संख्या अत्यधिक हुने गरेका कारण उनीहरुले दुई हप्ताकै बीचमा तोकिएकोभन्दा ३ करोड रुपैयाँ बढी असुलेका छन् ।
काठमाडौं उपत्यकामा रहेका आठवटा निजी प्रयोगशालाले १३ दिनको अवधिमा १७ हजारजनाको पिसीआर गरेको र उनीहरुले प्रति व्यक्ति न्यूनतम ४ हजार रुपैयाँ लिने गरेका छन् । सरकारी अस्पालमा भने पिसीआरको शुल्क दुई हजार रुपैयाँ छ । सरकारी अस्पतालहरुमा पिसीआर परीक्षण गर्न रातभर पालो कुरेर बस्नुपर्ने बाध्यताको फाइदा निजी अस्पतालहरुले उठाइरहका छन् ।
त्यसो त केही निजी प्रयोगशालाले भने सरकारले तोकेकै मूल्यमा पिसीआर परीक्षण गरिरहेका छन् । तर अधिकांशले सरकारले तोकेको मूल्यमा परीक्षण गर्न नसक्ने बताउँदै न्यूनतम ४ हजार रुपैयाँ लिइरहेका छन् । सरकारले शुल्क निर्धारण गरे पनि यसको कार्यान्वयनमा कडाई नगर्दा आम जनता लुटमा परेका छन् ।
यसबीचमा आज (आइतबार) यही विषयमा छलफल गर्न ल्याबका प्रतिनिधिलाई बोलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभएको छ । त्यस्तै तोकेअनुसारको शुल्क नलिने ल्याबलाई कारबाही गरिदिन गृह मन्त्रालयलाई समेत पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो ।
बढी शुल्क लिने ल्याबलाई अनुमति दिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई समेत छानबिन गरी कारबाही गर्न निर्देशन दिइसकेको डा. अधिकारीले बताउनुभयो । ती आठ ल्याबले भदौ २९ देखि शनिबारसम्म १७ हजार ६ सय ३६ जनाको पीसीआर गरिसकेका छन् । एक जनाको सरदर ४ हजार लिँदा कुल ७ करोड ५ लाख ४४ हजार रुपैयाँ हुन्छ, जुन सरकारले तोकेकोभन्दा ३ करोड ५२ लाख ७२ हजारले बढी हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार र शुक्रबार गरेको अनुगमनमा दुई हप्ताकोबीचमा ललितपुरको स्टार अस्पतालले ६ हजार ७ सय ८०, काठमाडौं कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टरले २ हजार ८ सय ६०, लाजिम्पाटको सुरिया हेल्थ केयरले २ हजार १ सय २, धुम्बाराहीको ह्याम्सले २ हजार ६ सय ५९, ललितपुर ग्वार्कोको बीएन्डबी अस्पतालले १ हजार ६८ र नख्खुको नेपाल मेडिसिटीले ६ सय ३ जनाको बढी शुल्कमा पीसीआर गरिसकेका छन् । त्यस्तै डीकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर सिनामंगलले ६ सय ३१ र थापाथलीको इन्टरपिड डायग्नोस्टिक सेन्टरले ९ सय ३३ जनाको बढी शुल्क लिएर पीसीआर गरेको पाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्