कुमारी बैंकले दियो एसिड आक्रमणमा परेका तीन युवतीलाई रोजगारी
एसिड आक्रमणबाट अनुहारको सुन्दरता गुमाएर रोजगारीको अभाव खेपिरहेका तीन युवतीलाई कुमारी बैंकले जागीर दिएको छ । कुमारी बैंकले एसिड पीडित दुईजना युवतीलाई उपत्यका र एकजनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो ।
एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाका अनुसार हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले रोजगारी दिएको हो ।
बैंकले तीनैजनालाई ‘मार्केटिङ अफिसर’को रुपमा बैंकले रोजगारी दिलाएको एसिड अपराधविरुद्ध न्याय, पुुनस्थापना र कडा कानुनका लागि क्रियाशील सामाजिक अभियान्ता उज्ज्वलबिक्रम थापाले जानकारी दिनुभयो । थापाका अनुसार असोज १ गतेबाटै गणना हुने गरी उनीहरुले रोजगारी पाएका हुन् । बैंकमा सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइने छ ।
हेटौंडाकी कंसाकारमाथि २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला भारत महाराजगञ्ज (अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले एसिड आक्रमण गरेका थिए । २०७१ फागुन १० गते एसएलसी परीक्षाका लागि ट्युसन पढ्न निस्किएकी संगीता मगरलाई बसन्तपुरमा रामेछाप फुलासीका जीवन बिकले एसिड छ्यापेका थिए ।
२०७६ जेठ २ गते कालोपुलमा काभ्रे फुलबारीकी जेनी खड्कामाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड प्रहार गरेका थिए । २०७६ फागुन २६ गते विदुर नगरपालिका–१३ घर भई बालाजु बस्दै आएका २७ वर्षीय रामराजा थापालाई उनकै श्रीमती प्रतिमा थापाले एसिड प्रहार गरेकी थिइन् ।
त्यस्तै एसिड आक्रमणबाटैबाट घाइते एक पुरुषलाई महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको छ । महान्यायाधिवत्ता अग्नी खरेलले आफ्नै श्रीमतीबाट एसिड आक्रमणमा परेका नुवाकोटका रामराजा थापालाई असोज १ गतेबाटै पारिश्रमिक गण्ना हुने गरी करारमा चालक नियुक्ति गर्नुभएको हो ।
सरकारले पनि एसिड आक्रमण गर्नेविरुद्ध बिहीबार नै अध्यादेशमार्फत् अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा उपचार खर्च निःशुल्क हुने गरी मन्त्रिपरिषदबाट कानुन पारित गरेको छ । अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ । पछिल्लो ७ वर्षमा मात्रै देशभर डेढ दर्जनमाथि एसिड आक्रमण भएको थियो ।