जन सरोकार

१२ वर्षीया सम्झनाको हत्यारालाई कारबाहीको माग गर्दै चैनपुरमा प्रदर्शन

मष्टा गाउँपालिका वडा नं २ की १२ वर्षीया सम्झना कामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा आइतबार पनि अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका छन् । उनीहरुले ‘न्याय कहिले पाउने र’ भन्दै प्रश्न गरेका छन् । बुधबार साँझ घरबाट गोठमा हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटामै मृत्यु भएको थियो ।

घटनामा संलग्न भएको आशंकामा अन्दाजी २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ । सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । बझाङको मष्टा–२ की १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला अस्पताल बझाङमा गरिएको शवपरीक्षण प्रतिवेदनअनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सबै तथ्य प्रमाण हेर्दा बोहोरा नै दोषी रहेको बताउनुभयो ।

यसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो, “प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु ।” गएका केही महिनायता देशभरि नै दलित समुदाय विरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् ।

रुकुम पश्चिममा नवराज विकलगायतका छ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध हत्या र हिंसाका घटना भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेत्री सङ्गौलाले भन्नुभयो, “नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख÷जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.