बिराटनगर उडेको जहाज आकाशमै दुई घण्टा फन्को लगाएपछि
चारजना चालक दलका सदस्य र ७३ यात्रु बोकेर काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएपछि आकाशमै दुई घण्टा फन्को लगायो ।
उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।
बिराटनगरमा अवतरण गर्नुपर्ने जहाज पुनः काठमाडौं फर्केर आकाशमै घुम्न थालेपछि यात्रुहरुमा रुवाबासी चल्यो । अन्ततः जहाज काठमाडौं फर्काउने निर्णय पाइलटले लिए । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंका आकाशमा फन्को मारेको थियो । त्यसपछि अवतरण गराइयो ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ(बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।
बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । जसअनुसार प्राइमरी इण्डिकेटरमा संकेत नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको थियो । यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेको मानिन्छ ।
सुरक्षामा शून्य सहनसिलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएको कम्पनीले जनाएको छ ।
सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएको जहाज काठमाडौं आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिइएको थियो । सोही अनुसार जहाज सुरक्षित अवतरण गराइएको छ ।
यस क्रममा यात्रुमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ । सुरक्षित हवाई यात्राको प्रतिवद्धता समेत कम्पनीले गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्