प्रदेशबागमती

युवाहरू देशका आधारस्तम्भ हुन्- मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा देशका आधारस्तम्भ भएको बताउनुभएको छ । युवा परिषद्द्वारा आयोजित दोस्रो प्रदेश युवा सम्मेलनमा मुख्यमन्त्री पौडेलले युवाहरू नवीन चेतना र विचारका सम्वाहक एवं परिवर्तनका अग्रगामी दस्ता भएको उल्लेख गर्नुभयो ।

भिडियो सम्बोधनमार्फत उहाँले नेपालको राजनीतिक परिवर्तनमा युवाहरूले निर्वाह गरेको भूमिका आफैँमा अद्वितीय रहेको भन्दै युवाहरूको सङ्घर्ष, त्याग र बलिदानकै जगमा लामो समयदेखि विद्यमान राजनीतिक सङ्क्रमणकाल अन्त्य भई राष्ट्र समृद्धिको युगमा प्रवेश गरेको बताउनुभयो । विगतमा राजनीतिक मुद्दाको उल्झनमा विकास र सम्बृद्धिको मुद्धा पछाडि परेको यथार्थ सबैमाझ छर्लङ्ग रहेको उहाँको भनाइ थियो ।

उहाँले संविधानका उपलब्धिलाई संस्थागत गर्दै जनतालाई परिवर्तनको अनुभूति गराउन हिजोका प्रवृत्ति र कायशैलीबाट उठेर नयाँ शिराबाट अघि बढ्नुको विकल्प नरहेको धरणा राख्नुभयो । मुख्यमन्त्री पौडेलले सरकारले अँगाल्ने नीति तथा तय गरेका कार्यक्रमहरूले त्यसको झल्को दिन सक्नुपर्ने भन्दै प्रदेश सरकारका नीति तथा कार्यक्रम यसै दिशामा केन्द्रीत रहेको बताउनुभयो ।

कोरोना महामारीका कारण हजारौं युवाहरू रोजगारीबाट विमुख भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विदेशमा श्रम गर्न गएका युवाहरू फर्किनु परेकाले आश्रित परिवारमा जीविकाको चिन्ता र भय थपिएको छ । विदेशबाट फर्र्किएका युवालाई श्रम र उत्पादनमा जोड्दै तथा स्वदेशमै कर्म गरिरहेका युवालाई राहत तथा प्रोत्साहनका प्याकेजहरूमार्फत युवा पलायनलाई रोक्ने गरी योजना, कार्यक्रम ल्याउने छौँ ।”

मुख्यमन्त्री पौडेलले पछिल्लो समय पढे लेखेका तथा विषयविज्ञ युवाहरूसमेत राम्रो अवसरका लागि पलायन हुने समस्यालाई सम्बोधन गर्न उनीहरूको ज्ञान एवं विषय विज्ञतालाई स्वदेशमै उपयोग हुने अवस्था सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अदक्ष एवं अर्धदक्ष युवालाई सीप विकास तालिमको अवसर प्रदान गरी स्वदेशमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले युवा लक्षित नीति तथा कार्यक्रममा जोड दिएको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.