जन सरोकार
सिनियर डिभिजनल इन्जिनियरबिरुद्ध तीन करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग, ललितपुरका सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्माविरुद्ध तीन करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्यिारले निजामती सेवामा प्रवेश गरेदेखि हालसम्मको अवधिमा शर्माले ५ करोड ४१ लाख ८६ हजार ६०६ आर्जन गरेकोमा ३ करोड ६ लाख ५४ हजार ९३२ रुपैयाँको स्रोत नखुलेले सोही बराबरको बिगो कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा सीडीई शर्माको सम्पत्ति श्रीमतीको नाममा पनि रहेको पाइएकोले जफतका लागि उनलाई पनि प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।२०५२ सालदेखि ०५३ सम्म अस्थायी र ०५३ देखि हालसम्म स्थायीरुपमा निजामती सेवामा प्रवेश गरेका शर्मा हाल सिँचाइ विभागको सीडीईका रुपमा कार्यरत छन् ।
प्रतिक्रिया राख्नुहोस्