आफ्नै कार्यकालमा ज्येष्ठ नागरिक भत्ता पाँच हजार पुर्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक असाधारण ज्ञानको भण्डार भएकाल उनीहरुको सम्मान गर्दै त्यो ज्ञान नयाँ पुस्ताले सिक्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै उहाँले ज्येष्ठ नागरिकको सम्मानित जीवनयापनका लागि सरकारले हरप्रयास गरिरहेका बताउँदै आफ्नै कार्यकालमा वृद्धभत्ता मासिक पाँच हजार पुर्याउने पनि बताउनुभएको छ ।
३०औंँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक भत्ता तीन हजार रुपियाँ पुगेको र यसलाई आफ्नै कार्यकालमा पाँच हजार रुपियाँ पुर्याउने जानकारी दिंदै अहिलेको अवस्थामा ज्येष्ठ नागरिकलाई भत्ता लिन जान असहज हुने भएकाले घरमै वा समुदायमै पुर्याउने व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो ।
ज्येष्ठ नागरिक एउटा सिङ्गो विश्वविद्यालय नै रहेको उल्लेख गर्दै परम्परागत ज्ञान, सीपका पनि खानी रहेकाले ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “हामीले ज्येष्ठ नागरिकबाट सिक्नुपर्छ । उहाँहरूसँग भूगोलको ज्ञान छ, प्रणालीको ज्ञान छ । प्रशासन, अर्थतन्त्र, इतिहास, परम्परा संस्कृतिको ज्ञान छ अथवा ज्ञानको विविधताको ठूलो भण्डार हुन् ज्येष्ठ नागरिक” ।
उहाँहरूको ज्ञान हस्तान्तरण गर्ने कुरामा सक्रिय कसरी राख्ने, त्यसको कदर राज्यले, समाजले कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । नेपाली समाज र संस्कारको पुस्तान्तरण पनि ज्येष्ठ नागरिककै देन भएको उहाँको भनाइ छ । बालबालिकालाई मात्रै सिकाउने होइन, सबै उमेर समूहलाई सिकाउन सक्ने महाविद्यालयका रूपमा ज्येष्ठ नागरिक रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
सरकारले ज्येष्ठ नागरिकको जीवन सहज बनाउन विविध प्रयास गरिरहेको उहाँले औँल्याउनुभयो । सरकारले अस्पतालमा उपचारमा दिनुपर्ने सबै खालका सुविधा बढाउँदै लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो । यस वर्ष ज्येष्ठ नागरिक विरुद्धको दुव्र्यवहार नारासहित यो दिवस मनाइएको हो । प्रधानमन्त्री ओलीले उहाँहरूप्रति हुने दुव्र्यवहारविरुद्ध आवाज बुलन्द पार्नुपर्ने बताउनुभयो ।
विश्व एकल परिवारतर्फ केन्द्रित रहे पनि नेपाली समाज चार÷पाँच पुस्ता एकै ठाउँमा स्नेहपूर्ण ढङ्गले पारस्परिक सहयोगका साथ रमाउने गरेको चर्चा गर्नुभयो । नेपालमा नाति नातिना, पनाती पनातिना, छोराछोरी, काकाकाकी, भतिजा भतिजी, हजुरबुबा, हजुरआमा सबै एकै ठाउँमा बसेका हुन्छन् । एकअर्कामा आत्मीयता वास्तवमा एउटा परिवारको, आफन्तको नाताको त्यो सम्बन्ध, सभ्यता हो,” उहाँले थप्नुभयो ।
अहिले केही बाह्य हावाबाट प्रभावित भएर संयुक्त परिवारको गौरवपूर्ण परम्पराबाट पर नहट्न उहाँले आग्रह गर्नुभयो । छोराछोरीले आमाबाबुलाई बूढाबूढी भएपछि ज्येष्ठ नागरिक, उमेर बढ्दै गएपछि बोझ सम्झने, हेला गर्ने प्रवृत्ति देखिन थालेकोमा दुःख व्यक्त गर्नुभयो ।
नेपालको संविधानमै ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा प्राप्त गर्ने, सुविधा प्राप्त गर्ने कुरा मौलिक हकमा व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक ऐनले उहाँहरूले प्राप्त गर्ने सम्मान, सेवा र सुविधा तोकेको छ ।