राजनीति

महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुढृढ गरिने : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुढृढ गरिने पनि बताउनुभएको छ ।

प्रकाशमान सिंह

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको अधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताउनुभएको हो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले गणेशमान सिंहले गरेको त्याग प्रकाशमान सिंहले गर्नुपर्छ भन्ने नरहेको भन्दै आफू पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभयो । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उहाँहरुले पार्टीमा अभिभावकत्व गर्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “पार्टीलाई भरोसायोग्य बनाएर सबै कम्युनिष्ट एक भए पनि लड्न सक्ने गरी सङ्गठन निर्माणमा हामी लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता थापाले थोरै समयमा कांग्रेसलाई शुद्ध र सुढृढ बनाउन लाग्नुपर्ने बताउँदै नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबी गर्नुभयो । नेता थापाले मुलुकलाई कम्युनिष्टको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कांग्रेस काठमाडौँको महाधिवेशनलाई देशभरले चासोका साथ हेरेको भन्दै सक्षम नेतृत्व ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीलगायतले अधिवेशनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button