जन सरोकार

सहाराविहीन आवासीय विद्यार्थीका लागि गाँस–बास अभाव

पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ मा रहेको एक विद्यालयमा आवासीयरूपमा अध्ययन गर्दै आएका विद्यार्थीले विभिन्न खाले अभाव झेल्दै आएका छन् ।

नगरपालिका–४ सालघारीस्थित जागृति आधारभूत विद्यालय आवासीयरूपमा अध्ययनरत सहाराविहीन बालबालिकाले बसोबास, खानपान तथा पठनपाठनमा विभिन्न अभाव र समस्या झेल्नुपरेको हो ।

विद्यालयसँग आवासको उचित व्यवस्थापन तथा यहाँ बस्ने बालबालिकाका आवश्यकता पूर्ति गर्ने पर्याप्त आर्थिक स्रोत नहुँदा उनीहरू अभाव र समस्या झेल्न विवश बनेका हुन् । उक्त विद्यालयमा अहिले २५ सहाराविहीन बालबालिका आवासीयरूपमा अध्ययनरत छन् ।

यहाँ बसेका बालबालिका बस्न, सुत्न तथा विद्यालय समय बाहिर पठनपाठन गर्न समस्या भोगिरहेका छन् । आवासमा कक्षा १ देखि ७ सम्मका विद्यार्थी बस्दछन् । तर भवनको अभाव हुँदा एकै कोठामा १६ जना छात्र र अर्कोमा नौ छात्रा बसोबास गरिरहेको प्रधानाध्यापक डिल्लीराम लुइँटेलले वताउनुभयो । “बालबालिकालाई आवासमा राखिए पनि प्रशस्त कोठाको व्यवस्थापन, सहज अध्ययनको प्रबन्ध, कपडालगायत आवश्यक सामग्रीको उचित प्रबन्ध गर्न सकिएको छैन”, प्रधानाध्यापक लुइँटेलले भन्नुभयो, “भौतिक अवस्था अत्यन्तै कमजोर भयो । शैचालय, भान्साघरको भवनसमेत उपयुक्त छैन ।”

आवास सञ्चालनका लागि फिदिम नगरपालिकाले वार्षिक रु पाँच लाख बजेट दिँदै आएको छ । “तर त्यो बजेटले बालबालिकालाई खाना खुवाउन मात्रै पुग्छ”, लुइँटेलले भन्नुभयो, “स्वास्थ्योपचार, लत्ताकपडा, स्टेशनरीलगायतको प्रबन्ध गर्न गाह्रो छ ।”

सामग्री अभाव भएपछि विद्यालयले भाडाकुँडा, खाद्यान्न, लत्ताकपडालगायत सामग्री विभिन्न व्यक्तिसँग निःशुल्क सहयोग मागेरसमेत आवश्यकता पूर्ति गर्दै आएको छ । नगरपालिकाबाट विनियोजित बजेट आवासको नियमित सञ्चालनमै सकिने भएपछि नयाँ संरचना निर्माण हुनसकेको छैन । अहिले चारकोठे भवनमा आवास र भान्साघर सञ्चालनसहित शिक्षिका तथा सहयोगी कर्मचारी बसोबास गरिरहेका छन् ।

उक्त विद्यालयले कम्तीमा ५० बालबालिका अट्ने भवन, भान्साघर, सहयोगीका लागि आवास, शौचालयलगायतको निर्माणका लागि फिदिम नगरपालिकासँग प्रस्ताव गरेको भए पनि बजेट नभएको प्रतिक्रिया पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङको भनाइ छ । उक्त विद्यालयले जिल्लाका अन्य स्थानमा अलपत्र परेका बालबालिका ल्याएर राखी अध्ययनको प्रबन्धका लागि सरकारी पर्याप्त पूर्वाधार र आर्थिक स्रोत जुटाउन पहल गरिरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

सडकमा सहाराविहीन तथा परिवारले पठनपाठनमा कुनै चासो नदिने बालबालिका भेटिएपछि उक्त विद्यालयमा विसं २०७२ देखि आवास सञ्चालना ल्याइएको हो । आवासमा गरिब, विपन्न, असहाय, शिक्षाबाट बञ्चित भएका, आमाबाबु नभएका तथा भए पनि शिक्षा दिन चासो नदिनेका छोराछोरीलाई राखेर पठनपाठन र खान बस्नको प्रबन्ध गरिएको छ । विद्यालयमै राखेर पठनपाठन गराउँदा त्यस्ता विद्यार्थीको शैक्षिक स्थिति सुधार भएको पाइएको प्रधानाध्यापक लुइँटेलको भनाइ छ ।

यहाँ सुरुआतमा १३ बालबालिकालाई राखेर आवास सुरुआत गरिएको थियो । अहिले बसेका २५ जनामध्ये १६ बालबालिकाका बाबुआमाले छाडेका छन् । बाँकी नौ जनाका बाबुआमा भए पनि स्याहारसुसार नगर्ने, ख्याल नराख्ने, विद्यालय पठाउने तथा पढाउनेतर्फ चासो नदिने भएपछि विद्यालय आफैँले अभिभावकत्व लिई अध्ययनको प्रबन्ध गरेको हो ।

आवासका विद्यार्थीको हेरचाह, पठनपाठनलगायत कार्यमा एक शिक्षिका र एक भान्से खटिएका छन् । यहाँ सातदेखि १५ वर्षसम्मका बालबालिका आवासमा बसेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.