जन सरोकार

भक्तपुरमा बसभित्र सामूहिक बलात्कार- सिराहामा मिलापत्र गराउनेहरु पक्राउ

पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका¬१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङ घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरूले यही असोज १६ गते बिहान ११ बजे किशोरीलाई रत्नपार्कबाट भक्तपुर आउने बसमा राखी पानीमा बेहोस हुने औषधि खुवाएर सूर्यविनायक ल्याई नम्बर नखुलेको बसमा १७ गते बिहान १० बजेसम्म सामूहिक बलात्कार गरेका थिए । सोही दिन बिहान ११ बजेदेखि राति करिब १० बजेसम्म चाँगुनारायण नगरपालिका¬८ तवियाखुसीस्थित खोला किनारामा पार्किङ्ग गरिराखेको बा.३ ख. २६१२ नम्बरको बसमा लगेर समेत सामूहिक बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

पीडित किशोरीले तीन युवाको चुंगलबाट फुत्की प्रहरीकोमा पुगेर घटनाबारे जानकारी गराएपछि प्रहरीले शनिबार नै दुईजना आरोपीलाई पक्राउ गरेको थियो । एकजना भने फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज जिल्ला अदालत भक्तपुरमा जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दायर गरी पक्राउ परेकालाई सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

उता सिराहामा बलात्कारका घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले आइतबार पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका¬१ मा भएको जबर्जस्ती करणी घटनालाई रु. पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जन पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिनुभयो ।

स्थानीय एक किशोरीलाई सोही ठाउँका २० वर्षीय मुकेशकुमार साहले घरमा पसेर गरेको जबर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराएको आरोपमा बिष्णुपुर गाउँपालिका¬ १ बिष्णुपुर निवासी ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।

किशोरीलाई बलात्कार गरेको भन्दै रीस आवेगमा आएर किशोरीकी भाइले ती युवकलाई कुटपिट गरी घाइते बनाएपछि सो घटना बाहिर आएको हो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरूले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी विराटनगरस्थित विराट नर्सिङ होममा लगी उपचार गराइएको थियो । सो घटना गाउँघरमै मिलाउन भनी गाउँमा नै पञ्चायत बसी पीडकको आफन्तलाई गराइएको तमसुक कागज स्थानीय जगविर यादवको घरबाट बरामद् भएको प्रनाउ पौडेलले बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button