बिचार

सन्दर्भ प्रदेश राजधानी- अरुले बनाइदिएकै खाने हो, नयाँ ढंगले विकास गर्नु छैन ?

डिकेन्द्र ढकाल

५ नम्बर प्रदेशको राजधानी तोकिएको खबर सुनियो ! दाङदेउखुरी ! १ नं प्रदेशको राजधानीको निर्णय गर्न ताप्लेजुंग वा खोटांग वा यस्तै ठाउँको बारे किन कुरा सुनिदैन ? २ नं. प्रदेशको जनकपुर छोडेर खपटाका छानावाला बस्ती भएका कुनै अविकसित “पुर” वा “गन्ज” छान्दा के हुन्छ ?बा गमती प्रदेशको राजधानी हेटौंडालाई नबनाएर रसुवा वा रामेछाप बनाएको भए के घाटा हुन्थ्यो ? गण्डकी प्रदेशको राजधानी म्याग्दी किन नहुने ?

५ नं. (लुम्बिनी) को बुटवललाई बनाउन कुर्सी नभाँचेर रोल्पा, रुकुम, सल्यानजस्ता ठाउँलाई बनाउन आवाज उठाएको भए काङ्ग्रेसको नाम निसान मेटिन्थ्यो ? कम्निष्ट दलका सिद्धान्त खरानी हुन्थ्यो ? कर्णालीको राजधानी निर्णय गर्दा कालिकोट वा मुगु छान्दा के हुन्थ्यो ? यसै गरी ७ को बझांग वा बाजुरा राख्दा सुदुरपश्चिम भासिन्छ ?

अहिले निर्णय भइसकेका र बाँकी कामचलाउ राजधानी ठाउँहरु विकासवादका दृष्टिकोणले सबै गलत छनौट हुन् । बिल्कुल गलत । दंगालीलाई दाङ मन पर्नु, बुटवलवासीलाई बुटवल नै राजधानी चाहिनु र मन पर्नु एउटा व्यक्तिगत लिबर्टी र एउटा फरक निजी पूर्वाग्रह हो । विकासवादका दृष्टिकोणले लुम्बिनीको राजधानी दाङको सट्टा रोल्पा वा रुकुममा भएको भए वाध्यताबस् ती हेपिएका, पेलिएका र पछाडि पारिएका ठाउँ र वरिपरिको ठाउँको छिट्टो विकास हुने थियो । पायक र केन्द्रजस्ता ठाउँ मानसिक म्यापिंग हुन् । सडक सन्जाल र विकास संरचना विस्तार गर्ने हो भने कुनै ठाउँ पनि अपायक र अकेन्द्र हुँदैन ।

काठमाडौँलाई केन्द्र बनाएको शासककै मानसिकताले हो । यो शासककै मेन्टल म्याप (मनले बनाएको नक्सा) हो । अस्ति भर्खरसम्म काठमाडौँ अहिलेजस्तो सुगम थिएन । अझै पनि कृष्णभिर पल्टँदा काठमाडौँ बुटवलबाट दूर्गम र अपायक हुन्छ ।

अहिले प्रदेशवादीले प्रस्ताव गरेका राजधानीहरु आवश्यक “संरचना” भएका ठाउँ भन्ने कारण देखाउलान् तर यी ठाउँ रेडिमेड नै यस्तै केन्द्र थिएनन् । सम्झना होस्, अस्ति भर्खरकै कुरा हो: अविकास भएका ठाउँहरुलाई नै छानेर पन्चायती शासकले क्षेत्रीय सदरमुकाम बनाएका र यिनको क्रमिक विकास भएको र कतिपय तिनै ठाउँमा अहिलेकालाई राजधानी बनाएर मस्ती गर्न सम्भव भएको हो ।

अविकसित भेगका विकासका निम्ति नै भारत, पाकिस्तान, अमेरिका, ब्राजिल, रुस, नाइजेरिया, काजख्स्तान, तान्जानिया, बर्मा आदि देशले राजधानी नै बदलेका हुन् । अर्थात् राजधानी बनाएपछि यी पछि परेका ठाउँ र तिनका “पेरिफेरी”ले रुप बदल्न सम्भव भएको हो ।

पछि पारिएका जिल्ला र ठाउँका जनताले पनि यो बुझ्न आवश्यक छ कि हरेक दलका मुखियाहरु ऐले नै सुविधासम्पन्न ठाउँका दरवारमा बसेर शासन चलाउन चाहन्छन् । अविकसित ठाउँमा पाउकष्ट गर्न चाहँदैनन् । अहिलेसम्म प्रदेशका राजधानी तोकिएका निर्णय हेर्दा यस्तो लाग्यो कि यी संधीयतावालामा राजा महेन्द्र र वीरेन्द्रमा जति पनि विकाससम्बन्धी चेत र चाहना रहेनछ ।

मैले विकास सम्बन्धी चेतनाको कुरा गरेँ । राजनीतिक उत्तेजनाको हैन । राजनीतिक उत्तेजनामा अहिलेकालाई कसले उछिन्ने ? नेवा ताम्सालिङ, तमुवान, थरुहट, खस राज्य, मगरात राज्यका उत्तेजना किन उठाइयो र दबाइयो ? ठिकै छ, टाँठाबाठा नेताहरु अविकसित गाउँबाट बिस्तारै सुविधासम्पन्न ठाउँतिरै सर्ने हो, भाषणमा अविकास र गरिबीकै राजनीति गर्ने हो भने त गरिएको प्रस्तावमा सहमति जनाउनु बिल्कुल ठिक छ ।

र, अरुले बनाइदिएकै खाने हो, नयाँ ढंगले विकास गर्नु छैन, स्थापित केन्द्रहरुको विनिर्माण गरी नयाँ केन्द्र बनाउनु छैन र पुरानो संरचनामा नै काम गर्ने हो भने त “विकास क्षेत्रीय अवधारणा” ठिकै थियो नि ! किन व्यर्थको ल्यांग ल्यांग मुख्य दलका स्वनामधन्य सोल्टीहरु ?

(ढकालको फेसबुकबाट)

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.