जन सरोकार

हनुमानढोकाको दशैँ घरमा विशेष पूजा

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताउनुभयो ।

दशैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । कोरोना जोखिम कायमै रहे पनि यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो । यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर बलिसहित पूजा आराधना गरिनेछ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् ।

यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button