प्रधानमन्त्री उद्धार कोषमा १० करोड संकलन, आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार एकै दिन विभिन्न राजनीतिक दल तथा व्यावसायिक संघसंस्थाबाट १० करोडभन्दा बढी रकम जम्मा भएको छ ।

पछिल्लो समय ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप र आबद्ध कम्पनीले रु पाँच करोड हस्तान्तरण गरेको छ । सो रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाइ हस्तान्तरण गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएकामध्ये सबैभन्दा बढी हो ।
नेपाल बैङ्क लिमिटेडबाट रु दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु एक करोड, एनएमबी बैङ्कबाट रु ५१ लाख, नेपाली कांग्रेसबाट रु ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रु ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त रकमसहित आजसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम रु १० करोड २६ लाख पुगेको छ । सहयोग गर्ने सबै संस्थालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्