झण्डै तीन महिनापछि सरकारले पायो पूर्णता
सरकार गठन भएको झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिनुभएको छ । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाउनुभएको हो ।
नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री हुनुहुन्छ ।
त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ ।
त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भवानीप्रसाद खापुङ राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या, बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्