घनश्याम गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बन्ने !
एमाले केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको आरोप
नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाएपछि एमाले छाडेको घोषणा गर्नुभएका नेता घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहनुभएको समाचार छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा रूपन्देहीबाट उम्मदेवार सिफारिस भए पनि नेकपा एमालेले उनलाई टिकट नदिएपछि उहाँले पार्टी छाड्नुभएको हो ।
पार्टी छाडेको घोषणासहित भुसालले रूपन्देही १ मा सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्रबाट उठ्ने तयारी गरेको उहाँनिकट स्रोतले बताएको छ ।
रूपन्देहीको १ गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको छ। रूपन्देही भुसालको गृह जिल्ला हो । भुसाल स्वतन्त्र उठ्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहयोग गर्ने बचन दिएको पनि समाचारमा जनाइएको छ ।
भुसालले २०७४ को चुनावमा वाम गठबन्धनबाट रूपन्देही ३ बाट विजयी हुनुभएको थियो । भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा भने राप्रपाका दिपक बोहोरालाई एमालेले सघाउनेछ ।
एमाले छाडेको भुसालको घोषणाको पूर्णपाठ
देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौं सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौं।
यसै सन्दर्भमा पार्टीको पाँचौं महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्यायो। नवौं महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उचाइमा लग्यो। तर दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्यो।
त्यसपछि पार्टी संस्थागत रूपले गुटबन्दीको मैदान बन्दै गयो। आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो। र अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ।
नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।
नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि संघर्षमा लागेका सहयोद्धा र सहकर्मीहरूप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ। राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु। कमरेडहरू! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं।
घनश्याम भुसाल, मणिग्राम, रूपन्देही
२०७९ असोज २२।’
प्रतिक्रिया राख्नुहोस्