जल/वातावरण

कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, सक्रिय संक्रमित २७ हजार, छ सयको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार पुगेको छ । शुक्रबार थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या एक लाख नाघेको हो ।

पछिल्लो चौबीस घण्टामा १३ हजार २ सय ७९ वटा नमूनाको परीक्षण गरिएकोमा २ हजार ५९ जना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङमा सो सङ्क्रमितसहित एक लाख ६ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल देशभर चार हजार ३०७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६८० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर ७३ हजार २३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।

उपत्यकामा थपिए एक हजार ४०९

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४०९ कोरोना सङ्क्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा एक हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या ३३ हजार ७७१ पुगेको छ ।

सङ्क्रमितको सङ्ख्या काठमाडौँमा ३० हजार ४९७, ललितपुरमा चार हजार १७४ तथा भक्तपुरमा तीन हजार ४९ पुगेको छ ।

मृत्यु हुने ६०० पुग्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ पुरुष र एक महिला छन् । झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button