इजरायमा सुरक्षित स्थानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाका बारेमा जानकारी लिंदै सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
सोमबार राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी लिंदै आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको जानकारी दिनुभएको छ ।
राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्