इजरायल-हमासले शान्ति योजनामा हस्ताक्षर गरेको ट्रम्पको घोषणा, राष्ट्रसंघद्वारा स्वागत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले अमेरिकाको गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै यसबारेमा जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘यसको अर्थ सबै बन्धकहरू चाँडै नै रिहा गरिनेछन् र इजरायलले आफ्नो सेना तोकिएको सीमासम्म फिर्ता बोलाउनेछ। यो एक बलियो, स्थिर र दीर्घकालीन शान्तिको दिशामा पहिलो कदम हुनेछ। सबै पक्षहरूसँग निष्पक्ष व्यवहार गरिनेछ।’
उहाँले यो कदम अरब र मुस्लिम विश्व, इजरायलका सबै छिमेकी देशहरू तथा अमेरिकाका लागि एक महत्वपूर्ण र ऐतिहासिक दिन भन्दै यस मामिलामा मध्यस्थताको भूमिका खेल्ने कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिनुभएको छ ।
ट्रम्पको यो घोषणापछि संयुक्त राष्ट्र महासचिव एन्तोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि भएको सम्झौताको घोषणालाई स्वागत गर्नुभएको छ ।
गुटेरेसले एक्समा लेख्नुभएको छ, ‘म अमेरिकाको साथै कतार, इजिप्ट र टर्कीका कूटनीतिक प्रयासहरूको प्रशंसा गर्दछु, जसले यसलाई सम्भव बनायो। म सबै सम्बन्धित पक्षहरूलाई सम्झौताका सर्तहरूको पूर्ण रूपमा पालन गर्न अपिल गर्दछु। सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गर्नुपर्छ। स्थायी युद्धविराम सुनिश्चित हुनुपर्छ। लडाइँलाई सधैंका लागि अन्त्य गर्नुपर्छ।’




प्रतिक्रिया राख्नुहोस्