राजनीति

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन कोरोना संक्रमणबाट

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईको निधन कोभिड –१९ को सङ्क्रमणबाट भएको छ । ९९ वर्षका प्रसाईका काठमाडौंँको ओम अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । विसं २०४८ को आठौंँ महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष हुनुभएका उहाँ विसं २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत हुनुहुन्थ्यो । विसं १९७८ माघ १५ गते जन्मनुभएका उहाँ पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसार्इँ निर्वासनबाट स्वदेश फर्कनुभएको थियो ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उहाँ झापामा स्वतन्त्र उम्मेद्वार बन्नुभयो । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उहाँ पराजित हुनुभएको थियो । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उहाँले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गर्नुभयो ।

उहाँका पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् । कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताउनुभयो ।

यसबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामवावु प्रसाई (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी, सत्यवादी नेताको रुपमा आफ्नो बेग्लै पहिचान बनाउनु भएका पूर्व कोषाध्यक्ष प्रसाईको निधनको खबरले आफूलाई दुःखीत बनाएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो । विसं १९७८ को माघ १५ मा जन्मनु भएका प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँको निधनमा कांग्रेसका प्रवक्ता शर्माले शोक व्यक्त गर्दै ट्वीट गर्नुभएको छ । ‘‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो”, कांग्रेसका प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ, ‘‘शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा ।’’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.