बलात्कारको घटनामा महिलाकै कमजोरी खोजिंदा पीडित अझै पीडित

बलत्कार लगायतका महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका अधिकारका क्षेत्रमा कार्यरतहरुले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘महिला र दतिमाथिको बढ्दो अपराध’ विषयको वेभ छलफमा उहाँहरुले कुनै पनि घटनामा पीडकलाई उन्मुक्ति दिएर पीडितको कमजोरी खोजिने प्रवृत्ति हट्न नसकेको बताउनुभयो ।
महिला अधिकारवादी डा रेणु राजभण्डारीले अहिले पनि बलात्कृत महिलालाई समाजले बिटुलीएको र परिवारको इज्जत जान्छ भन्ने रुपमा लिने गरेको उल्लेख गर्नुभयो । अधिकारकर्मी र मिडियाले पनि पीडितको कारवाही भए÷नभएको कुरामा ध्यान दिए पनि महिलामा परेको सामाजिक, मानसिकलगायतका असरबारेमा ध्यान नदिएको उहाँको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म धेरै राजनीतिक बहस भए पनि अबका दिनमा रुपान्तरणमुखी सामाजिक बहसको खाँचो छ ।”
पत्रकार तथा सामाजिक अभियानकर्मी कनकमणी दिक्षितले अबको बाटो सामाजिक शिक्षा नै भएको आँैल्याउनुभयो । सामाजिक, नैतिक शिक्षा र सहअनुभूतिका कुरा बालबालिकालाई सिकाउन खाँचो रहेको उहाँको भनाइ छ । महिला हिंसाका घटना नेपालमा मात्रै नभएर संसारभर भइरहे पनि मुलधारकै मिडियामा पनि कमजोर र शक्तिहिन महिलाका रुपमा चित्रण गरिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “युट्युबलगायतका मिडियाको नियन्त्रणको कुरा उठीरहँदा यससँगै वाक स्वतन्त्रताको विषय जोडिएको छ ।”
सामाजिक अभियानकर्मी गौरा नेपालीले पाठ्यक्रममा रहेको जातीय विभेदका विषयवस्तु हट्न नसकेको औँल्याउनुभयो ।
पाठ्यक्रममा दलितलाई तल्लो जातका रुपमा चित्रण गरिएकाले यस समुदायका बालबालिकामा आफु तल्लो जातको हुँ भन्ने भावना विकास भएको उहाँको भनाइ छ । कतिपय शिक्षित व्यक्तिले समेत दलितका विषयप्रति संवेदनशील हुन नसकेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, “डिग्री पढेका व्यक्तिमा समेत समान भए आरक्षण किन चाहियो र समान नभए विभेद किन नगर्ने भन्ने सोचाइ पाइन्छ ।”
प्रतिक्रिया राख्नुहोस्