बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गर्नुभएको हो ।

बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काका अनुसार आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दशैंपछि हुनेछ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ।
नेकपा एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) बनेको छ । बागमती प्रदेश सभा एक सय नौ सदस्यीय छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद चाहिन्छ । तर सत्तारूढ नेकपा एमालेसँग जम्मा ४३ जना सांसद छन् ।
विपक्षी गठबन्धनले बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । शाक्य मुख्यमन्त्री भएको दुई महिना पनि पुगेको छैन ।
गठबन्धनमा रहेका दलहरूका सांसद बागमतीमा पनि धेरै छन्। नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) को १३ सांसद छन् ।
त्यसै गरी विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्