जन सरोकार

रुपन्देहीको मोतिपुरमा कफ्र्यु, प्रहरीसंगको झडपमा तीनजनाको मृत्यु

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा शसस्त्र प्रहरी र आफूलाई सुकुम्बासी बताउने समूहबीचको झडपपछि प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको छ ।

गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिनुभयो । उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

प्रहरीले अस्थायीरूपमा बनाइएका टहरा भत्काउन खोज्दा झडप भएपछि स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो ।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आज दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइदिँदै आएको थियो तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.