सोलुखुम्बुका अधिकांश कार्यालय प्रमुखले बिदा अगावै कार्यालय छाडे
जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दशैं बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दशैं मान्न घरतिर हिँडेका पाइएको हो ।

यस वर्षको दशैं बिदा यही असोज २६ गते फुलपातीका दिन भए पनि अधिकांश कार्यालयका प्रमुख शुक्रबार नै घर गएको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । केही प्रमुखबाहेक विभिन्न बहानामा बिदा लिएर घर जाने विगतको प्रथाले यस वर्ष पनि निरन्तरता पाएको छ ।
बिदा अगाडि नै कार्यालय छाड्ने प्रमुखमा जिल्ला अदालत, सरकारी वकिल, जिल्ला हुलाक, मालपोत कार्यालय, हुलाक कार्याल, बागवाणी केन्द्र फाप्लु, जिल्ला जनगणना कार्यालय, नेपाल टेलिकम, खाद्य तथा व्यापार कम्पनी लिमिटेड, कोष तथा लेखा नियन्त्रणको कार्यालय, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलगायत कार्यालयका प्रमुख रहेका छन् ।
यी कार्यालयका प्रमुखमध्ये अधिकांश आइतबारदेखि कार्यालयमा हाजिर भएका छैनन् भने केही प्रमुख हप्ता दिन अघिदेखि नै अनुपस्थित रहेका छन् । प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले समेत व्यक्तिगत समस्याका कारण कार्यालय प्रमुख घर बिदामा गएका स्वीकार गर्नुभयो ।
कर्मचारी बिदामा बसेको भए पनि सेवा प्रभावित नभएको भन्दै प्रजिअ शाहीले सेवा नै प्रभावित भएको पाइएमा कार्वाही गरिने बताउनुभयो ।
सरकारी नियमानुसार तोकिएको दशैं बिदा असोज २६ देखि ३० गतेसम्म उल्लेख गरिएको छ । बिदा हुनु अगावै कार्यालय छाड्ने र बिदा सकिएको केही दिन ढिला गरी हाजिर हुने चलन रहेको छ । यो प्रथाले तल्लो तहका कर्मचारीलाई बढी जिम्मेवारी दिने र सुविधा कम हुने गरेको स्वयम् कर्मचारी बताउँछन् ।
प्रतिक्रिया राख्नुहोस्