कर्णालीप्रदेश

जनताको विश्वास जित्नुस् : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक भावना र मागलाई सम्मान गर्दै सुधारका ठोस योजनासहित काम अघि बढाउन प्रदेशका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवसँग आव २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी भएका निर्णय र प्रतिबद्धताका प्रगतिसम्बन्धी छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “अब सुधारका कुरा कागजमै सीमित हुने होइन, व्यवहारमै देखिनुपर्छ, जनताले पारदर्शिता, जवाफदेहिता र सहज सेवाको अपेक्षा गरेका छन्, त्यसको प्रत्यक्ष अनुभव दिलाउनु नै हाम्रो जिम्मेवारी हो ।”

उहाँले कार्यालयका ढोका जनताका लागि सधैँ खुला राख्न, हरेक काममा पारदर्शिता र विश्वास कायम गर्न तथा विगतका कमजोरीबाट सकारात्मक पाठ लिएर नयाँ सोच र कार्यशैली अपनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार हिजोका गल्तीबाट सिकेर आज सुधारका उपाय लागू गर्नु नै वास्तविक प्रगति हो ।

उहाँले प्रदेश सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाह हुने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको कार्यक्षमता देखाउन अब तपाईंहरूले पहल गर्नुपर्छ, तालिम, भ्रमण, गोष्ठी वा आवश्यक नभएका योजनामा हुने खर्च घटाएर वास्तविक विकासमा लगानी गर्नुपर्ने बेला आएको छ ।”

त्यस क्रममा उहाँले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न, सेवा प्रवाहमा सरलता ल्याउन, ढिलाइ संस्कृतिलाई अन्त्य गर्दै जनतामुखी प्रशासनिक सुधार लागू गर्न सबै सचिवहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.