बेलायत जान पिसीआर गर्दा पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु
बेलायत जान पिसीआर परीक्षण गर्दा पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं १५ का करीब ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो ।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।
छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसै गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ः०० बजे निधन भएको हो ।
उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो । शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । आइतबार बिहान दुई जनाको मृत्यु भएको थियो
बिराटगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमितको सोमबार बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिनुभयो ।
मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गौलाको नियमित डाइलोसिस गराउँदै आएका थिए । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ ।
उता रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो ।
यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताउनुभयो । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या ४० जना पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्