मुख्यमन्त्री शाहीमाथि अविश्वास प्रस्ताव रोक्न अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीलाई आव्हान
सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा मन्त्रीहरुको हेरफेरको प्रस्ताव पारित भएको र यस विषयमा पार्टीभित्र छलफल चलिरहेका बेला एकाएक कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको संसदीय दलको नेताबाट हटाउन आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसलाई रोक्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई आव्हान गर्नुभएको छ ।
तत्कालीन माओवादी केन्द्रका नेता रहनुभएका शाहीमाथि नेकपा प्रदेशसभाका बहुमत सदस्यले संसदी दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि सो विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपाका अध्यक्ष केपी शर्मा ओलीसंगको भेटमा सो आव्हान गर्नुभएको हो ।
शाहीलाई पदबाट हटाउने प्रस्ताव बालुवाटारको निर्देशनमा भएको आरोप तत्कालीन माओवादी रहेका प्रदेशसभा सदस्यहरुले लगाइरहेका बेला सोमबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बिहान बालुवाटार पुग्नुभएको थियो । भेटका क्रममा कर्णाली प्रदेशमा पार्टीकै सांसदबाट दलमा दर्ता गरिएको अविश्वासको प्रस्तावबारेमा प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले जिज्ञासा राख्नुभएको उहाँको सचिवालयले जानकारी गराएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार मन्त्रिपरिषद पुनर्गठनको विषयमा पार्टीभित्र छलफल भइरहेकैबेला अकस्मात अविश्वासको प्रस्ताव आउनु पार्टी स्पिरिटअनुसार नभएको भन्दै त्यसलाई रोक्न अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको हो ।
पार्टीको स्थायी कमिटी बैठकले दिएको जिम्मेवारी र म्यान्डेटअनुसार पार्टीभित्र छलफल जारी रहेकाले तत्काल अविश्वास प्रस्ताव आउनु पार्टीहितमा नरहेको अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई भन्नुभएको सापकोटाले बताउनुभयो ।
त्यस्तै अध्यक्ष प्रचण्डले आजै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गर्नुभएको छ । नेता नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमका अनुसार दुई नेताबीच खुमलटारमा छलफल भए पनि के विषयमा छलफल भएकोबारे जानकारी नगराइएको बताउनुभयो ।
भेटमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाललाई पनि अविश्वासको प्रस्ताव रोक्न आग्रह गर्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।
प्रतिक्रिया राख्नुहोस्