जल/वातावरण

कोरोनामा आयुर्वेदिक औषधिको माग चारगुणा बढी

आधुनिक विज्ञानले अहिलेसम्म पत्ता लगाउन नसकेको कोरोनाको औषधिका रुपमा नेपाली वनस्पतिहरुबाट बनेका औषधिको माग बढ्न थालेको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ ।

worldondemand
mirai-life

सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउनुहुन्छ ।

“विसं २०७६ चैतअघि तुलसी चियाको खपत वार्षिकरुपमा सरदर सात हजार २३१ पोका हुन्थ्यो, यस वर्ष सात महिनामै १३ हजार ६५७ पोका बिक्री भइसकेको छ, माग बढिरहेकाले अरु बनिरहेको छ, यसवर्ष पहिलोपटक बनाइएको गुर्जोको चिया गुडुची सात हजार ३४७ पोका बजारमा गइसकेको छ”, उहाँले भन्नुभयो ।

समितिबाट गत वर्ष अश्वगन्धा ८१८ पोकामात्र बिक्री भएको थियो । यस वर्ष छ हजार ३८८ पोका गइसकेको छ । यसैगरी यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २०२ पोका बिक्री भइसकेको छ । गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुई हजार २७१ पोका बिक्री भइसकेको छ । कात्तिक लागेसँगै समितिले रोग प्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ ।

मागअनुसार पूर्ति गर्न धौधौ भए पनि अहिलेसम्म समितिले बजारमा आवश्यकताअनुसार पूरा गर्न सफल भएको छ । कोरोना भाइरसको फैलावटसँगै गुर्जोका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउनुहुन्छ ।

“गुर्जोसँगै अमला पनि लगाउनुपर्छ, अमलालाई बिर्सनुभएन, गुर्जोसँगै अमला पनि आम्दानीको स्रोत बन्छ, अमला र गुर्जो पनि भयो भने रोग प्रतिरोधी क्षमता बढाउँछ, गुर्जो जुन बिरुवामा जान्छ, त्यसैको गुण लिने भएकाले गुर्जो र अमलासँगै लगाउनुपर्छ”, उहाँले भन्नुभयो ।

उपत्यकामा वाग्मतीलगायत नदी किनार, गोकर्ण लगायत स्थानमा धेरै सङ्ख्यामा गुर्जो रोपिए पनि अमला नरोपिनु उत्पादनका दृष्टिले समेत ठीक हुँदैन । व्यावसायिक रुपमा अमला खेती गरे समितिले सबै किनिदिने प्रतिबद्धता जनाएको छ । समितिले गुर्जोको चिया कोभिडपछि बनाएको हो । विगत वर्षमा अमलाबाट बनेका परिकारको माग पनि कम थियो । गुर्जो, अमलालगायत जडीबुटीबाट बनेका परिकार अनुसन्धानबाट प्रमाणित नभएसम्म कोरोनाकै औषधि भन्न नसकिए पनि रोग प्रतिरोधी क्षमता बढाउने उत्पादनका रुपमा उपयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पु¥याउँछ भनी अनुसन्धान शुरु गरेको छ । परिषद्का प्रवक्ता मेघनाथ धिमाल अनुसन्धानका लागि तालीम सकी अरु काम अघि बढेको बताउनुहुन्छ ।

गुर्जोको निःशुल्क वितरण तीव्र

राजधानीमा कोरोनाको फैलावटसँगै गुर्जोको बिरुवा, धुलो र चिया निःशुल्क वितरण गर्ने अभियान पनि तीव्र भएको छ । सशस्त्र प्रहरी बल सिनामङ्गलमा २०० बिरुवाका साथै चिया र औषधिको धुलो प्याकेट वितरण गरिएको गुर्जो अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले राससलाई जानकारी दिनुभयो । पतञ्जलि योग समितिको आयोजनामा काँडाघारी क्षेत्रका स्थानीयवासीलाई ५००, ललितपुर महानगरपालिका–२५ भैँसेपाटी ६००, नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय २००, भक्तपुर क्यान्सर अस्पत्ताल ४००, चन्द्रागिरि नगरपालिकालाई २००, महानगरीय प्रहरी वृत्त थानकोट २०० बिरुवा हस्तान्तरण गरिएको छ ।

गुर्जाेको बिरुवा वितरण गरिएका सबै स्थानमा गुर्जोलगायत जडीबुटीबाट बनेको चिया खुवाउने, चिया तथा धुलो औषधि वितरणसमेत गरिएको छ । वितरण गरिएका स्थानामा कोरोना देखिएका परिवारलाई गुर्जाेको विशेष प्याकेटको व्यवस्था गरिएको छ । त्रिभुवन पार्कमा गुर्जो लगाउनसमेत निःशुल्क वितरण अभियानले सहयोग गर्ने भएको छ ।

यसैगरी ललितपूर महानगरपालिका–१० को ज्वागलस्थित बराह टोल सुधार समितिलाई २००, बूढानीलकण्ठ नगरपालिकाको वडा नं १० र ११ मा २००, टोखा नगरपालिकालाई ६०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताउनुभएको छ ।

गुर्जाेबाट बनेको सबै रोगमा उपयोगी हुने धुलो औषधि पनि बिरुवासँगै वितरण गरिएको छ । टोखा नगरपालिकामा मनमोहन मेमोरियल अस्पतालका विभागीय प्रमुख डा श्यामेन्द्रबहादुर सिंहलाई समेत बिरुवा र गुर्जोबाट बनेका औषधि वितरण गरिएको थियो । मेडिकल डाक्टर पनि गुर्जाेको चिया तथा धुलो औषधिको नियमित सेवनकर्ता रहेको अभियानकर्मी राजलवटले बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button